Logo

प्रधानमन्त्रीसँग मुटु छैनः गगन थापा



काठमाडौं, ३० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मुटु नै नभएको बताएका छन् । कोरोना भाइरसबाट संक्रमित भएर १३ दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका नेता थापाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्रीसँग मुटु नभएको बताए ।

कोरोनाका कारण सबैक्षेत्र प्रभावित हुँदा पनि कुनै पनि कुरामा प्रधानमन्त्रीलाई नछोएको भन्दै उनले भने ‘अब हामीले भन्नु नै पर्छ । हाम्रो प्रधानमन्त्रीसँग मुटु छैन । हाम्रो प्रधानमन्त्रीसँग मन छैन । प्रधानमन्त्रीसँग मुटु नै रहेनछ । यतिका कुरा हुँदै गर्दा दुख्दा पनि नदुख्ने, पोल्दा पनि नपोल्ने । छुँदा पनि नछुने । भनेपछि प्रधानमन्त्रीसँग मुटु छैन ।’

कोरोना कहरले जनतालाई पोलेको कुरालाई प्रधानमन्त्री ओलीले प्रथामिकता नदिएको सांसद थापाले बताए । ‘प्रधानमन्त्रीको पहिलो प्राथमिकता प्रचण्डसँगको भेटघाटमा छ । पार्टीभित्रको झगडा, लुम्बिनी प्रदेश राजधानीमा आफ्नै दलका दुई नेता मिलाउने प्राथमिकता छ । प्रधानमन्त्रीको अहिलेको प्राथमिकता कर्णालीको झगडा मिलाउने छ । त्यसपछि मन्त्रिमण्डल पुनर्गठनले एकथरि नेताहरु रिसाउने भएपछि फकाउने र ढाल्नेभन्दा अरू ध्यान छैन,’ उनले भने ।

सांसद थापाले आफूलाई ९ औं १० औं दिनमा ज्वरो खोकीलगायतका कोरोनाका लक्षणसमेत देखिएको जानकारी दिए । कोरोनाको अर्को परीक्षण कुरिरहेको र केही दिनमै संक्रमणबाट मुक्त आशा पनि व्यक्त गरे । उनले भने ‘मसहित बुबा, आमा, श्रीमती, छोरीलगायत नौं जना घरमा आइसोलसेनमा छौँ । शुभेच्छा र आशीर्वादले गर्दा अहिलेसम्म कसैलाई गाह्रो भएको छैन । आशा छ, केही दिनभित्रै हामी संक्रमणबाट मुक्त हुनेछौँ ।’

कोरोनाका कारणले सर्वसाधरण कंगाल बनेर सडकमा आइपुग्दासमेत प्रधानमन्त्री ध्यान नदिएको उनको गुनासो छ । ‘कोरोनाका कारण स्वास्थ्य क्षेत्र प्रभावित भएका छन् । त्यहाँभित्र पनि नन–कोभिड । संक्रमण नभएको तर अन्य रोगको उपचार नपाएर अस्तव्यस्त भएको छ । अर्कोतिर, आर्थिक क्षेत्र तहसनहस भएको छ। हजारौं मान्छेहरु बेरोजगार भएका छन् ,’ उनले भिडियोमर्फत भने, ‘स्वरोजगार भएका व्यक्तिको जीवन अस्तव्यस्त बनेको छ । कंगाल बनेका छन्,सडकमा आइपुगेका छन् । यस्तो बेलामा यी कुनै पनि कुरामा प्रधानमन्त्रीले ध्यान दिएको पाइएन ।’

प्रतिक्रिया दिनुहोस्