Logo

देशभर आज एक हजार ३५६ संक्रमित थपिए



काठमाडौँ, ६ असोज । नेपालमा आज एक हजार ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६६ हजार ६३२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा एक हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ९ हजार १९३ जना र होम आइसोलेसनमा ८ हजार ९३९ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १७१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १५४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ३४ हजार ९७७ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार २२३ जनाको आइसीयूमा र ३७ जनाको भेन्टिलेटर उपचार भइराखेको छ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८२३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।

मोरङ, सिरहा, काठमाडौं, ललितपुर, मकवानपुर, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने प्रवक्ता गौतमका अनुसार सोलुखु्म्बू, म्याग्दी, मुस्ताङ, ताप्लेजुङ, डोल्पा, रसुवा, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्