Logo

बसमा लाग्यो खिया: व्यवसायीको बिजोग, मजदुरको झनै बिजोग



विराटनगर, १ असाेज । विराटनगर–८ मधुमाराका लोकेन्द्रबहादुर बस्नेत दुईवटा डिलक्स बस किनेर कुदाएको दुई वर्ष भयो। १० वर्ष कतार बसेर कमाएको सम्पत्तिमा बैंकबाट ३० लाख ऋण लिएर लगानी गरेका थिए। किस्ता तिर्न र खान पुगिरहेकै बेला कोरोना महामारीले बस नकुदेको ६ महिना भयो। यो अवधिमा न उनले ६ जना स्टाफ पाल्न सकेका छन् न त बैंकको किस्ता र गाडी मर्मत गर्न नै।

लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय सुनेर बसको अवस्था हेर्न पुगेका बस्नेतलाई अझै ऋण थपिने निश्चित भएको छ। ‘बसमा खिया परेको छ। टायर मकाएका छन्। ब्याट्री डाउन भएर गाडी स्टार्ट नै हुँदैन’, उनी भन्छन्, ‘अब कन्डिसनको बनाएर सडकमा निकाल्न अझै चार लाख खर्च हुन्छ।’

अर्का यातायात व्यवसायी उत्तम चौलागाईंका दुईवटा बस विराटनगर–भोजपुर रुटमा चल्थे। बैंकबाट ऋण झिकेका चौलागाईंका दुवै बसका टायर कामै नलाग्ने भएका छन्। ब्याट्रीले काम गर्दैन। किस्ता, कर र बिमा सबैको अवधि सकिएको छ। बैंकबाट किस्ता तिर्न भन्दै फोन मात्रै हैन कर्मचारी नै घरमा धाउन थाल्दा मानसिक तनाव बढेको उनी बताउँछन्।

‘केही आम्दानी होला भनेर यो व्यवसायमा लाखौं रकम लगानी गरें। यो महामारीले गेरु बस्त्र लगाउने बनाउला जस्तो छ’, उनी भन्छन्, ‘सबै क्षेत्र चलायमान बनाउने सार्वजनिक यातायातको समस्या कसैले बुझिदिएन।’

पोखरा, धनगढी र काँकडभिट्टामा ठूला बस सञ्चालन गर्दै आएका जीवन खनालको समस्या उस्तै छ। सरकारले यातायात खुलाउने निर्णय गर्नु राम्रो कुरा भए पनि व्यवसायी सबै ठूलो आर्थिक भारमा परेकाले केही राहत प्याकेज ल्याउनुपर्ने उनको माग छ।

विराटनगरस्थित बसपार्कमा दैनिक चहलपहल भइरहन्छ। कुनै बसभित्र गीत बजेको सुनिन्छ। राति बत्ती पनि बल्छ। बेलाबेला बस घ्यारघ्यार घुरघुर पारेर स्टार्ट पनि गर्छन्। बसपार्कमा यताउता गर्ने र बसमै सुत्नेको संख्या पनि कम छैन। उनीहरू बसका सहचालक (खलासी) र केही चालक नै हुन्।

यस्ता मजदुर बसपार्कमा ५७ जना छन्। उनीहरू बस कुद्न छाडेदेखि यसरी बस्दै आएका छन्। गाडी मालिकले बस नकुदेको समयमा उनीहरूलाई व्यवस्थापन गर्न नसक्ने बतायो। त्यसपछि निःशुल्क बाँडेको खान खाने र राति बसमै सुतेर समय बिताउने गरेको दुर्गा सुनार बताउँछन्। ‘बिहान बेलुका विराटनगर बजारमा निःशुल्क खाना खुवाउने युवाको टोलीमा जान्छौं। राति यहीँ सुत्ने हो’, उनी भन्छन्, ‘अब त खुल्ने भन्या छन् क्यारे, मज्जा आउला।’

यस्ता मजदुरलाई केही समय व्यवसायी मिलेर खाना खुवाए पनि पछि लकडाउन र निषेधाज्ञा लम्बिँदा त्यो क्रम रोकिएको थियो। घर भएका केही मजदुरलाई व्यवसायीले घरै पुर्‍याए। तर, सबैको व्यवस्थापन गर्न भने नसकिएको व्यवसायी चौलागाई बताउँछन्। रविन भट्टराईले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्