Logo

१ नंम्बर प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार नजिक



विराटनगर, ३१ भदौ । प्रदेश नंम्बर १ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच हजार नजिक पुगेको छ । एकैदिन एक सय ३८ जना नयाँ बिरामी थपिएसँगै मंगलबारसम्ममा संक्रमित संख्या प्रदेशमा चार हजार नौ सय ६७ पुगेको हो ।

संक्रमित हुनेमा एक हजार चार सय ११ जना महिला र तीन हजार पाँच सय ५६ जना पुरुष रहेका छन् । हालसम्म एक लाख १० हजार सात सय ९० जनाको स्वाब संकलनपछि पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये एक लाख पाँच हजार आठ सय २३ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उपचारपछि कोरोना जित्दै प्रदेश १ मा हालसम्म दुई हजार एक सय ४२ जना डिस्चार्ज भइसकेका छन् । प्रदेश १ मा हालसम्म १३ महिला र ३७ पुरुष गरेर ५० जना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १२ जना प्रदेश २ र ३८ जना प्रदेश १ का हुन् ।

प्रतिक्रिया दिनुहोस्