Logo

बिपी प्रतिष्ठानमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु



सप्तरी, ३१ भदौ । सप्तरीको खडक नगरपालिका ३ का ३५ वर्षीय मिर्गौला रोगबाट पीडित एक पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए ।

एक वर्षदेखि मिर्गौला रोगबाट पीडित युवकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नियमित डायलासिस लिइरहेका थिए । सातामा दुईपटक नियमित डायलासिस गरिरहेका युवकमा उच्च रक्तचापको पनि समस्या रहेको चिकित्सकले बताएका छन् ।

मिर्गौला रोगबाट पीडितसहित ६ जनाको सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका ३५ वर्षीय पुरुषको अवस्था सिकिस्त बन्दै गएपछि मङ्‍गलबार राजविराजस्थित अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले जानकारी दिए ।

युवकको बिहान मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । जसमध्ये एक महिला छन् । मृतक पुरुषको शव धरानमा छ । खडक नगरपालिकाको एम्बुलेन्सले धरानबाट शव ल्याएपछि नेपाली सेनाले शवको व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्