Logo

ताप्लेजुङको पापुङका किसानलाई याक वितरण



पापुङका किसानलाई याकको बच्चा वितरण गरिँदै ।

ताप्लेजुङ, ३० भदौ । ताप्लेजुङको दुर्गम तथा हिमाली गाउँ पापुङका किसानलाई याकको बच्चा वितरण गरिएको छ । दिनदिनै लोप हुँदै गएको याक पालनको प्रवद्र्धन गर्ने तथा विपन्न वर्गका किसानको आयआर्जन वृद्धि गर्नमा सहयोग पु¥याउने उद्देश्यले किसानलाई याकको बच्चा (याक्चु) वितरण गरिएको हो ।

मिक्वाखोला गाउँपालिका वडा नं. ५ पापुङका वडाध्यक्ष डण्डु लामाका अनुसार उपल्लो तोक्पेगोला बस्तीका १२ परिवारलाई याक वितरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको याक–चौंरी विकास कार्यक्रममार्फत यहाँका किसानलाई याकको बच्चा वितरण गरिएको हो । निःशुल्क रुपमा बच्चा वितरणले याक पालनको प्रवद्र्धन साथै याक पालन पेशाप्रति किसानलाई उत्साहित गर्नमासमेत सहयोग पुग्ने वडाध्यक्ष लामाले विश्वास लिएको बताए ।

पापुङका वडासदस्य पासाङ शेर्पाका अनुसार याक पालन पेशामा सङ्लग्न रहँदै आएका विपन्न परिवारको छनोट गरी उनीहरुलाई याकको बच्चा वितरण गरिएको हो । निक्कै महङ्गो मूल्य पर्ने याकको बच्चा अनुदानमा पाउँदा स्थानीय किसानमा खुसी छाएको वडासदस्य पेर्शाले बताए । उनका अनुसार किसानलाई वितरण गरिएको याकको बच्चाको मूल्य प्रतिगोटा ४० हजार रुपियाँ पर्दछ ।

यता पछिल्लो समय जिल्लामा याक तथा चौंरी पालन गर्ने पेशा हराउँदै गएको छ । हिमाली क्षेत्रका बासिन्दाको पुख्र्यौली पेशाको रुपमा रहेको याक पालन नयाँ पुस्ताले निरन्तरता नदिएपछि पेशा हराउँदै गएको छ । पहिले पापुङका माथिल्लो बस्तीका अधिकांसले याक पालन गर्ने गर्दथे भने अहिले तोक्पेगोला र सिम्बुककासमेत करिव २२ परिवारले मात्र याक पालन पेशालाई अँगाल्दै आएको वडासदस्य शेर्पाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्