Logo

झापाली समाज युएसएको अधिवेशन सम्पन्न, अध्यक्षमा ढुंगाना चयन



झापा, ३० भदौ । “शिक्षामा सबैको पहुँचको लागि सामुहिक योगदान, एक व्यक्ति एक विद्यार्थी हाम्रो अभियान”का साथ झापाली समाज युएसएको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अमेरिकाको विभिन्न राज्यमा छरिएर बसेका झापालीहरूलाई संगठित गरी आपसमा भाईचारा र बन्धुत्वको सम्बन्ध कायम गर्दै आफ्नो जन्मभूमिको विकासमा लाग्न प्रेरित गरी झापा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यका साथ गठन भएको झापाली समाज युएसएको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

झापाली समाज युएसएको भर्चुअल अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले समाजले गर्न लागेको शैक्षिक अभियानको प्रशंसा गरेका थिए । साथै प्रदेश सरकारले आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

सभामा विशेष अतिथि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले समाजको यो अभियानले शैक्षिक क्षेत्रको सुधारमा महत्वपूर्ण योगदान रहने बताए । साथै यो अभियान झापामा मात्र सिमित नगरी २ नं. प्रदेश र कर्णाली प्रदेशका केही जिल्लामा पनि शुरू गर्न आग्रह गरे ।

नेपाल सरकारका पूर्व मुख्य सचिव डा. भोजराज घिमिरेले अधिवेशनको सफलताको कामनाको शन्देश पठाउँदै समाजको ‘एक व्यक्ति एक विद्यार्थी’ अभियानको प्रसंसा गर्दै एकजना विद्यार्थीलाइ उच्च मावि तहसम्म अध्ययन गर्न सहयोग पुर्याउने जानकारी दिए । साथै यो अभियान बिचैमा नरोकियोस् भन्दै यसको निरन्तरताका लागि गम्भिर बन्न आग्रह गरे ।

नेपाल बारका पूर्व केन्द्रीय उपाध्यक्ष तथा झापा विकास मञ्चका अध्यक्ष वरिष्ट अधिवक्ता हरिप्रसाद उप्रेतीले यो अभियान अत्यन्त प्रशंसनीय भएको र झापा विकास मञ्च यो अभियानमा एक साझेदारीको रूपमा सँगै काम गर्न तयार रहेको जानकारी दिए ।

त्यसैगरी जिल्ला सहकारी संघ, झापाका अध्यक्ष गणेश ढकालले यो अभियानले जिल्लाको शैक्षिक क्षेत्रको सुधारमा उल्लेखनीय योगदान पुर्याउने र जिल्ला सहकारी संघले यो अभियानमा एक स्थानीय साझेदारको रूपमा निश्पक्ष र पारदर्शी रूपमा काम गर्दै लक्षित समुदायसम्म यो अभियानलाइ पुर्याउने वचनवद्धता व्यक्त गरे ।

अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रीय अध्यक्ष छत्र सुब्बा (हङकङ) र संरक्षक दिनेश पोखरेल (अष्ट्रेलिया)ले यो शैक्षिक अभियान अमेरिकाले शुरू गरेको भए पनि अन्तर्राष्ट्रिय झापाली समाजकै अभियानको रूपमा रहेको र संसारभर रहेका झापालीहरूलार्इ यो अभियानमा सामेल गराउने बताए ।

सभामै अझासका वरिष्ट उपाध्यक्ष दिपक खनाल (अष्ट्रेलिया)ले एक जना विद्यार्थीलाइ उच्च माध्यमिक तहसम्मको अध्ययनमा सहयोग पुर्याउने प्रतिवद्धता जाहेर गरे । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले शैक्षिक संस्थामा हुने राजनीति बन्द भए आधा शैक्षिक क्षेत्रको समस्या समाधान हुने विचार व्यक्त गरे । साथै आफूले यो अभियानमा सक्दो सहयोग गर्ने वचनबद्धता जाहेर गरे ।

मुकुन्द ढुंगानको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन नीलम विमलीले गरेका थिए । उक्त समारोहमा शैक्षिक अभियानको बारेमा असिस्टेन्ट प्रोफेसर डा.भेषराज मैनाली र जिल्लामा स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामको बारेमा डा.खगेन्द्र दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

बन्द सत्रमा डा. शम्भु ढुंगानाले प्रस्तुत गरेको विधान संशोधन मस्यौदालार्इ परिमार्जन सहित पारित गरेको थियो । सभाले समाजका महासचिव निलम विमलीले प्रस्तुत गरेको संगठानीक प्रतिवेदन तथा कोषाध्यक्ष डिल्ली थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतीले पारित गरेको थियो ।

प्रा.डा.गोपीनाथ उप्रेती अध्यक्ष, डा. शम्भु ढुंगाना र खगेन्द्र अधिकारी रहेको निर्वाचन समितिले अध्यक्षमा मुकुन्द ढुंगानालाई चयन गरेको छ भने वरिष्ठ उपाध्यक्षमा यमुना भट्टराइ उपाध्यक्षहरू सीता पाण्डे, प्रदिप तिम्सिना, नारायण शिवाकोटी, नविन पोखरेल, महासचिवमा निलम विमली, सचिवमा युवराज खतिवडा र कोषाध्यक्षमा युवराज खनाल रहेका छन् ।

सदस्यहरू डा. भेषराज मैनाली, डा.लीला खतिवडा, खगेन्द्र दाहाल, कविन्द्र सिटौला, टीका पौडेल, प्रसन्न संग्रौला, मोहन निरौला, मञ्जु संग्रौला, डिल्ली थापा, बेद बस्नेत, दिपक पाण्डे, विकास उप्रेती, सावित्रा ओली भण्डारी, कृष्ण खतिवडा, मोहन उप्रेती र डा. पर्शुराम दाहाल रहेका छन् ।

दुइदिने अधिवेशनको समापन गर्दै पुनः निर्वाचित अध्यक्ष मुकुन्द ढुंगानाले अधिवेशनले दिएको जिम्मेवारी इमान्दारीका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै हाल स्थापना गर्ने भनिएको २५ लाख रुपैयाँको अक्षयकोषलाइ तीन वर्ष भित्रमा बढाएर १ करोड पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

ढुंगानाले ‘एक व्यक्ति एक बिद्यार्थी’ अभियानबाट आगामी तीन वर्ष भित्रमा २०० जना विद्यार्थीको उच्च माध्यमीक तह सम्मको अध्ययनमा सहयोग पुर्याउने घोषणा गर्दै शिक्षा नै विकासको प्रमुख आधार भएकाले यो महान् अभियानमा सहयोग गर्न देश र विेदेशमा रहेका सबै नेपालीहरूमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्