Logo

लुकेर बसेका बलात्कारका आरोपी नौ महिनापछि पक्राउ



सप्तरी, २९ भदौ । एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नगरपालिका–५ कुशहाका १७ वर्षीय मोहम्मद अन्साद मियाँलाई पक्राउ गरेको छ ।

फरार भएका आरोपितलाई नौ महिनापछि सिरहाको धनगढीमाई नगरपालिका–२ धनगढास्थित मामाघरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

मामाघरमा लुकेर बसेको गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षकको टोलीले पक्राउ गरी ल्याएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

विवाहको प्रलोभन दिई आरोपितले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालयमा २०७६ पुस १२ गते उजुरी दिएकी थिइन् ।

घटनापश्चात गाउँघरमै छलफल गरी मिलाउने प्रयास असफल भएपछि ढिलो गरी उजुरी आएकाले तत्काल पक्राउ गर्न नसकिए पनि नौ महिनामा फरार रहेका आरोपितलाई पक्राउ गरिएको प्रहरी निरीक्षक केशरीले बताए । आरोपितले भने विवाह गर्न नमान्दा झुठा उजुरी लगाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्