Logo

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, आज थप ३१५ जनामा संक्रमण



काठमाडौँ, १७ साउन । नेपालमा आज थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

अहिले क्वारेन्टाइनमा ११ हजार पाँच सय ३३ जना रहेका छन्। हाल देशभर ५ हजार ३३८ जना कोरोना संक्रमित छन्। प्रदेश नम्बर १ मा २२५, प्रदेश नम्बर २ मा २ हजार ६६, बागमती प्रदेशमा ५७५ र गण्डकी प्रदेशमा ३१३ जना, प्रदेश नम्बर ५ मा ३८७, कर्णाली प्रदेशमा २९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६७५ जना संक्रमित उपचाररत रहेका छन् ।

नेपालमा बितेको २४ घण्टामा थप ९३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ४९२ रहेको छ ।

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट र कैलाली हुन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ६ पुगेको छ । प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो । 

प्रतिक्रिया दिनुहोस्