Logo

समुदायमा कोरोना फैलिएपछि विराटनगरमा १४ दिन लकडाउन



विराटनगर, १६ साउन । कोरोना भाइरस संक्रमण समुदायस्तरमा गएको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि विराटनगर महानगरपालिकामा शनिवाबारदेखि दुई हप्ता पूर्ण लकडाउन गरिने भएको छ ।

पछिल्ला दिनहरूमा समुदायस्तरबाट कोरोना संक्रमितहरूको संख्या अत्यधिक बढ्न थालेपछि शुक्रबार बसेको महानगरस्तरीय कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को बैठकले विराटनगर महानगरपालिका शनिबारदेखि आगामी १४ दिनका लागि पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार शनिबार बिहान १ बजेदेखि लागू हुने लकडाउन पहिलेको जस्तो खुकुलो भने हुनेछैन । अर्थात् यस लकडाउन अत्यन्त कडाइका साथ पालना गराइने उनले बताए ।

लकडाउनलाई प्रहरी, प्रशासन, महानगरपालिका, नागरिक समाज र उद्योगी व्यवसायीहरूको सहयोगबाट पूर्ण रूपमा कार्यान्वयन गराइनेछ । लकडाउन अवधिमा नेपाल–भारत सीमानाका पूर्ण रूपमा बन्द गरिनेछ ।

बाेर्डर सिल भए पनि लुकिछिपी आउनेहरूले गर्दा महानगरमा कोरोना संक्रमण बढेर समुदायस्तरमा गएको निष्कर्ष महानगरपालिकाको छ । यसैले नागरिकहरूलाई नै जिम्मेवार बनाएर लकडाउन पालना गराउँदै पिसिआर परीक्षणको दायरा बढाउने योजना महानगरपालिकाको छ ।

विराटनगरमा चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरीलगायतमा कोरोना संक्रमण देखापरिसकेको छ । पछिल्लोपटक फेलापरेका संक्रमितहरू खुलेआम हिँडडुल गर्ने गरेका व्यक्ति र पसलेहरूसमेत पाइएका छन् ।

महानगरपालिका जनस्वाथ्य महाशाखाका अनुसार शुक्रबारसम्म कोरोना संक्रमितहरूको संख्या एक सय सातजना पुगेको छ । संक्रमितमध्ये हालसम्म ३० जना मात्रै निको भएर उपचार केन्द्रबाट डिस्चार्ज भएका छन् । विराटनगर महानगरपालिकामा अझै ४४ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्