Logo

फिल्म उद्योगमा उदितको ४० वर्ष पूरा



काठमाडौँ, २७ असार । गायक उदित नारायण झाले भारतीय फिल्म उद्योगमा आफ्नो ४० वर्ष पूरा गरिसकेका छन् । सन् १९८० मा उनको पहिलो फिल्म ‘उन्नीस बीस’ आएको थियो । संगीत राजेश रोशनको थियो । लेखेका थिए अमित खन्नाले ।

त्यो गीत उदित नारायणले मोहम्मद रफीसँग गाएका थिए । उद्योगमा ४० वर्ष पूरा गरेको खुसीयालीमा उदित नारायणले आफ्नो युट्युब च्यानल सार्वजनिक गरेका छन् । ४० वर्षको यात्रामा उनले दुई पटक पद्म पुरस्कार प्राप्त गरेका छन् । ५ पटक उनले फिल्म फेयर अवार्ड पनि जिते । उनले ४० वटा भाषामा गीत गाएका छन् । यी सबै उपलब्धि उनले सजिलै हासिल भने गरेका होइनन् ।

उनले भने, ‘सन् १९८० देखि पहिलो काम पाउने संघर्ष अलग थियो । ६ देखि ७ व्यक्तिसँग मुम्बईमा एउटा कोठामा बस्थेँ । जुन सानो गाउँबाट आएको थिएँ त्यहाँ पिता किसान थिए । उहाँले डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्नुहुन्थ्यो तर लगाव भिन्न थियो । संघर्षका दिनमा मानिसहरूले भन्ने गर्दथे कि यो त अब कुनै कामको छैन । आफूसँग क्षमता हुँदासमेत मुम्बईका ठूला गीत सङ्गीतकारको ढोका ढक्ढकाएँ । बल्लबल्ल पहिलो काम पाएँ । त्यसपछि सन् १९८८ मा ‘कयामत से कयामततक’ नामको फिल्म आयो, त्यसपछि पछाडि फर्केर हेरेको छैन ।’

सन् १९९८ मा ‘कुछ कुछ होता हे’बाट सफलता पाएपनि एउटा भिन्न संघर्ष सुरु भयो । लगातार धम्की आउन थाल्यो । ‘धेरै हावामा उडिस्’ भनिन्थ्यो । पैसाका लागि फोन आउन सुरु भयो । कामसमेत छोडिदिन भनियो । एउटा समूह थियो जसले मेरो नामको सुपारी दिएको थियो, जो मेरा कामका लागि असुरक्षित महसुस गरिरहेका थिए । यस्तो अवस्थामा मुम्बई क्राइम ब्रान्चले मलाई लगातार सहयोग ग¥यो । सुरुमा सन् १९९८ मा तत्कालीन पुलिस कमिश्नर एमएन सिंहले मलाई दुई प्रहरी अधिकारी दिए । पछि जब राकेश मारिया आए उनले पनि सतर्क रहन भने । उनले पनि मलाई सुरक्षा प्रदान गरे । यो सबै कुरा प्रहरीको दस्तावेजमा रेकर्ड छ ।’

एक समय लखनउबाट मेरो नामको सुपारी लिएका केही मानिस आएका थिए । त्यतिबेला प्रहरीले स्थिती नियन्त्रणमा लियो । अर्को एक पटक पनि ममाथि हमला गर्ने तयारी भएको थियो । मैले सन् १९९८ देखि २०१९ सम्म धम्कीयुक्त फोन पाएँ । कतिपटक त हत्या गरिदिने धम्की पनि पाउने गर्थेँ । गाली गलौज त हरेक फोनमा पाउँथे ।’

उनले भने, ‘मैले ‘भाइ, त्यस्तो केही होइन, खासै राम्रो कमाई छैन, एउटा गीतमा १५ देखि २० हजार भारु कमाउँछु’ भनेर सम्झाउनु पर्दथ्यो । तर कसैले सुनेनन् । लगातार २२ वर्ष मैले धम्की सुनेर बिताएँ । ’

धम्की दिनेहरुको मुख्य उद्देश्य मलाई तनाव दिनु थियो । मैले आफ्नो राम्रो गर्न नसकोस् भनेर उनीहरुले मलाई तनाव दिने गर्दथे । सुरुसुरुमा मलाई पक्कै पनि डर लाग्थ्यो । थुप्रै रात ननिदाइकनै बित्थे । कतिपटक डिप्रेशनमा गएँ । आत्महत्यासम्मको विचार आयो, तर एक सैनिकले झैं डटिरहेँ ।’

‘जीवन सजिलो त छैन । समस्याको समाधान कहिले निडर भएर गरेँ कहिले नरम भएर । प्रहरीबाट पनि सहयोग पाइरहेँ पहिलो चरणमा सन् १९९८ देखि सन् २००२ सम्म मसँग दुई मेसिन गनधारी प्रहरी अधिकारी सँगै रहन्थे ।’

प्रतिक्रिया दिनुहोस्