Logo

सरिता गिरी पार्टीबाट निष्कासित, सिटौला सांसद बन्ने निश्चत



काठमाडौँ, २३ असार । पार्टी अनुशासन उलंघन गरेको आरोपमा समाजवादी पार्टीले समानुपातिक तर्फकी प्रतिनिधि सभा सदस्य सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णय गरेको छ ।

समाजवादी पार्टीको मंगलबार दिउँसो बसेको पदाधिकारी बैठकले पार्टीको निर्देशन र संसदीय दलको ह्वीप उल्लंघन गरेकाले भन्दै निष्कासन गर्ने निर्णय गरेको हो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न ल्याइएको संविधान संशोधन विधेयकमाथि पार्टीले समर्थन जनाएको अवस्थामा पनि सांसद गिरीले त्यसविरुद्ध संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

संसदीय दलले संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएपनि नमानेको विषयमा पार्टीले बनाएको छानवीन समितिले गरेको सिफारिसका आधारमा गिरी निष्कासनमा परेकी हुन् ।

गिरीले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि होइनन् भन्दै आएकी थिइन् ।

गिरी पार्टी र संसदबाट निष्कासित भएपछि उनको ठाउँमा ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् । समाजवादी पार्टीको केन्द्रीय सदस्य रहेकी सिटौला खसः आर्य समूदायको प्रतिनिधित्व गर्दै सांसद बन्ने भएकी हुन् । पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचिको दोस्रो नम्बरमा भएकाले सांसद बन्ने पक्का भएको हो ।

प्रतिक्रिया दिनुहोस्