Logo

ल्याबका लागि एकै दिन पाँच लाख ३६ हजार सहयोग



झापा, १५ असार । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरुले रकम हस्तान्तरण गरिरहेका छन् ।

सोमबार मात्र दाताहरुले पाँच लाख ३६ हजार २८२ रुपैयाँ ल्याब स्थापनाका लागि प्रदान गरेका छन् । एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई उनीहरुले नगद हस्तान्तरण गरेका थिए । बिर्तामोड–२ चैतुबारीका धार्मिक तथा ज्येष्ठ नागरिक ९० वर्षीय विष्णुप्रसाद ओलीले ५१ हजार १११ रुपैयाँ प्रदान गरे । उनले सञ्चारमध्यममा समाचार सुनेर अभियानलाई सहयोग गरेको बताए । दातासमेत रहेका समाजसेवी लोकबन्धु कन्दङवाले रकम प्रदान गरेको समाचार सुनेर आफूले पनि इच्छा व्यक्त गरेको ओलीले सुनाए ।

अभियानका सहसंयोजक विनोद बस्नेत, सदस्य मदनगोपाल सुब्बा, केदार गिरी र कन्दङवा ओलीको घरमै पुगेर रकम ग्रहण गरेका थिए । रकम हस्तान्तरणपछि ओलीले सबै ज्येष्ठ नागरिक पनि अभियानमा जोडिनुपर्ने धारणा राखेका थिए ।

यसैबीच, सोमबारै अतिथि सदनमा भएको कार्यक्रममा छजना दाताले रकम हस्तान्तरण गरे । यसअघि नै घोषणा गरेको अमेरिकास्थित मिसन रिबिल्ड नेपालले दुई लाख, बिर्तामोडका व्यवसायी प्रदिप मित्तलले एक लाख एक हजार, मेचीनगरका समाजसेवी गोमादेवी मैनाली र मोहनकुमार भेटवाल दम्पत्तीले ७१ हजार १७१, बिर्तामोडका समाजसेवी सुरेन्द्र ओडारी र पुनम ओडरी दम्पत्तीले ५१ हजार, वन पैदवार उद्योग व्यवसायी संघ झापाले ५१ हजार र डिएन्डबी स्टोर्सका सञ्चालक दुर्गा थपलियाले ११ हजार रुपैयाँ हस्तान्तरण गरे ।

नेपाल र अमेरिका दुवै देशमा गैरनाफामुलक संस्थाको रुपमा दर्ता भई सामाजिक कार्य गर्दै आएको मिसन रिबिल्ड नेपाल २०७२ सालको विनाशकारी महाभूकम्पपछि नेपाल र नेपालीलाई सहयोग गर्ने उद्देश्यले स्थापित अमेरिका र नेपालमा रहेका चिकित्सक, इन्जिनियर र अन्य पेसाकर्मीको साझा संस्था हो ।

प्रतिक्रिया दिनुहोस्