Logo

बजेटले कोरोना प्रभावितलाई सम्बोधन गर्न सकेनः काँग्रेस



काठमाडौँ, १९ जेठ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले आगामी आवको बजेटले कोभिड–१९ को रोकथाम र त्यसबाट प्रभावित भएका नागरिकको जीवन रक्षामा ध्यान पु¥याउन नसकेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाद्वारा प्रस्तुत ‘विनियोजन विधेयक २०७७’ माथिको सैद्धान्तिक छलफलका क्रममा उक्त पार्टीका सांसदले बजेट प्रभावितलाई सम्बोधन गर्नाको साटो अन्यत्रै परिचालन गरिएको टिप्पणी गरेका थिए ।

विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले विधेयकमा छलफल गर्ने बेलामा कुन स्रोतबाट पैसा आउँछ भनेर संसदलाई स्पष्ट रुपमा जानकारी दिनुपर्ने माग गरे । आर्थिक गतिविधि अघि बढाउन कहाँबाट कसरी रकम आउँछ भनेर स्पष्ट खुलाउनुपर्नेमा उनले जोड दिए ।

सोही पार्टीका उमा रेग्मीले राम्ररी कोरोनाको उपचार हुन नसकेको अवस्थामा काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झँै बजेट स्वास्थ्यभन्दा रक्षातिर केन्द्रित गरिएको भन्दै आपत्ति प्रकट गरे । उनले रोजगारीबाट फर्किएका युवालाई आकर्षित गर्ने बजेट खै भन्ने प्रश्न गरे । बजेट महिलामैत्री समेत नभएको उनको भनाइ थियो ।

अर्का सदस्य देवेन्द्रराज कँडेलले सरकारको नीतिले विद्युतीय र अटो व्यवसायीलाई धराशायी बनाएको आरोप लगाए । सांसद दिलेन्द्रप्रसाद बडुले बजेटको प्राथमिकता भनेकै कोरोना महामारी नियन्त्रण र प्रभावित जनताको जीवन रक्षा हुनुपर्नेमा सरकारको ध्यान त्यसतर्फ जान नसकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्