Logo

६० अर्ब बराबरको राहत छः अर्थमन्त्री



काठमाडौँ, १६ जेठ । सरकारले कोरोनाका कारण प्रभावित भएको क्षेत्रलाई आवश्यकताका आधारमा राहत उपलब्ध गराएको र समग्रमा हिसाब गर्दा रु ६० अर्ब बराबरको रहेको स्पष्ट पारेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा कर, विद्युत् महसुल छुटलगायतको समग्र पक्षमा मूल्याङ्कन गर्दा उल्लेख्य मात्रामा राहत उपलब्ध गराइएको जानकारी दिए ।

उनले राहत प्याकेज एउटै मात्र नहुने र त्यसमा नगद मात्रै नभएको भन्दै विभिन्न कार्यक्रममा दिइएको नगद, प्रोत्साहन, छुट, कर मिनाहा, समयावधि बढाउने, कर तिर्ने अवधि बढाउने जस्ता कार्यक्रम पनि राहत नै भएको बताए ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी नहुनेलाई प्राप्त हुने ज्यालाको एक चौथाइका आधारमा राहत दिँदा झण्डै रु तीन अर्ब बराबरको रकम उपलब्ध हुने बताए ।

यस्तै १० यूनिटसम्म विद्युत् प्रयोग गर्नेलाई छुट, सिँचाइ खानेपानीमा ५० प्रतिशत महसुल छुट तथा उद्योगलाई लाग्दै आएको डिमाण्ड शुल्क हटाउँदा मात्रै रु आठ अर्ब बराबरको राहत उपलब्ध हुने भएको छ । वायु सेवा प्रदायकले बजेटले झण्डै रु सवा अर्ब बराबरको छुट पाउने भएका छन् ।

सामाजिक सुरक्षा कोषमा आबद्ध भएकालाई रोजगादरातासहितको रकम सरकारले उपलब्ध गराउँदा रु सवा अर्ब बराबरको राहत उपलब्ध हुने देखिएको छ । यस्तै सहुलियतपूर्ण कर्जामार्फत ब्याजमा दिइएको छुटका आधारमा मात्रै रु १४ अर्ब बराबरको राहत उपलब्ध हुने मन्त्री डा खतिवडाको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले स्थापना गरेको रु एक खर्ब बराबरको पुनरकर्जा कोषबाट रकम लिँदा व्याजलगायतमा झण्डै रु २० अर्ब बराबरको सहजता प्राप्त गर्न सकिन्छ । सहुलितपूर्ण पसल तथा नागरिकको दैनिक उपभोग्य पसलका लागि रकम उपलब्ध गराउँदासमेत झण्डै रु ५० करोड बराबरको सहुलियत प्राप्त हुने भएको छ ।

अर्थमन्त्री डा खतिवडाले भने, “नगदमा मात्रै राहत हुन्छ भन्ने होइन, अन्य क्षेत्रमा दिइएको छुट पनि राहत हो, राहतको कार्यक्रम भनेको नगदै बाँड्ने मात्र होइन, करछुट, ब्याजदरमा सहुलियतबाट दिन सकिन्छ ।” सबै उपाय अपनाएर राहतको प्याकेज ल्याएको बताए । यस्तै करमा मात्रै रु छ अर्बको राहत प्याकेज दिइएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्