Logo

पीसीआर भाइल खरिद गर्दै ताप्लेजुङका स्थानीय तह




ताप्लेजुङ, १० जेठ
। ताप्लेजुङका स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण दरलाई बृहत बनाउने योजनासहित पीसीआर भाइल र स्टिक खरिद गर्ने भएका छन् । परीक्षणलाई ब्यापक बनाउन जिल्लाका नौ वटै स्थानीय तहले कम्तिमा दुई हजार थान स्वाब सङ्कलन गर्ने पीसीआर भाइल र स्टिक खरिद गर्ने भएका हुन् ।

जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले जिल्लामा कोरोना परीक्षण दरलाई ब्यापक बनाउन आवश्यक ठान्दै पीसीआर भाइल खरिद गर्नका लागि सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । समितिको सो निर्णयसँगै अब स्थानीय तह आफैंले कम्तिमा तीनसय पीसीआर भाइल खरिद गर्ने प्रक्रिया अघि बढाउने तयारी सुरु गरिएको पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार मेन्याङ्बोले बताए ।

अध्यक्ष मेन्याङ्बोले भाइल खरिदका लागि नेपाल सरकारबाट व्यवसायका लागि अनुमति प्राप्त व्यवसायिक प्रतिष्ठानसँग सम्पर्क गरिसकेको पनि जानकारी दिए । मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले पीसीआर खरिद प्रक्रियाका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले गरेको अनुरोध सकारात्मक रहेकोभन्दै यसका लागि फराकिलो मन बनाउने बताए । आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले स्वाब सङ्कलनका लागि प्रयोग हुने उपकरण खरिदमा आफुहरु सबै स्थानीय तहसँग मिलेर सहकार्य गर्न तत्पर रहेको बताए ।

समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बिदेशमा अलपत्र परेका नागरिक समेतलाई स्वदेश फर्काउने अभियानमा सरकार अघि बढिसकेकाले ताप्लेजुङका सबै स्थानीय तहलाई पीसीआर खरिदका लागि प्रस्ताव गरेको बताए । समिति संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले जनसंख्या र लाक्ष्यणिक अवस्थाका आधारमा प्रत्येक स्थानीय तहले कम्तिमा दुई सय र बढीमा तीन सय थान पीसीआर खरिद गर्नुपर्ने गरी बैठकले निस्कर्ष निकालेको बताए । यस बिषयमा सबै तहका प्रमुख तथा अध्यक्षसँग छलफल भइरहेको मादेनले बताए ।

यता स्थानीय तहले खरिद गरेर ल्याउने पीसीआर भने जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको जिम्मामा रहने भएको छ । मापदण्ड र स्वास्थ्य अवस्थाका आधारमा पीसीआर परीक्षण गर्नुपर्नेहरुको पहिचान सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मीले गरेपछि परीक्षण प्रक्रिया अघि बढाइने भएको पनि प्रजिअ निरौलाले जानकारी दिए । हाल जिल्लामा भने पर्यटनमन्त्री योगेश भट्टराईको समन्वयमा एकसय जति पीसीआर र दुई सय थान आरडीटी किट रहेको जनाइएको छ ।

१६ जनाको स्वाब परीक्षण नतिजा नेगेटिभ

यसैबीच ताप्लेजुङबाट पठाइएको १६ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को आशङ्कामा ताप्लेजुङ अस्पतालका स्वास्थ्यकर्मी र अग्र भागमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि सहितको स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाइएकोमा नतिजा नेगेटिभ आएको हो । ताप्लेजुङ अस्पतालका डाक्टर सोनिङ लामाका अनुसार कोरोना भाइरस सङ्क्रमणबिरुद्ध अभियानमा अग्र भागमा रहेर काम गर्नेहरुको स्वाब पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्