Logo

१७ खर्बको बजेट आउँदै



काठमाडौं, ९ जेठ । संघीय संसद्अन्तर्गतको अर्थ समितिले कोरोनाका कारण क्षति भएको अर्थतन्त्रलाई गतिशील बनाउन १७ खर्बको बजेट ल्याउन सुझाव दिएको छ । अर्थ समितिमा विभिन्न निकायले दिएको सुझावका आधारमा १३ बुँदे सुझावसहितको प्रतिवेदन बिहीबार तयार गर्दै समितिले पूर्ण आकारको बजेट ल्याउन सरकारलाई सुझाव दिएको हो ।

समितिले ठूलो आकारको बजेट बनाउन तथा आन्तरिक ऋण पनि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सुझावभन्दा धेरै लिन सुझाव दिएको छ ।

समितिले कुल गार्हस्थ्य उत्पादनको आन्तरिक ऋण ६ प्रतिशतसम्म उठाउन सरकारलाई सुझाव दिएको हो । उता राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ५।५ प्रतिशतसम्म आन्तरिक ऋण उठाउन सुझाव दिएको थियो । सरकारले यसअघि ५ प्रतिशतसम्म आन्तरिक ऋण उठाउने निर्णय गरेको थियो । कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशत आन्तरिक ऋण उठाउँदा २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन मिल्छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।

अर्थ समितिले कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशतसम्म हुने गरी बजेटको आकार बनाउन दिएको सुझावअनुसार १६ खर्ब ९३ अर्ब रुपैयाँको बजेट निर्माण हुनेछ । चालू आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको रहेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्