Logo

प्रधानमन्त्रीको अभिव्यक्तिले अनावश्यक विवाद



काठमाडौं, ९ जेठ । प्रमुख प्रतिपक्षी कांग्रेसले समस्याको समाधान खोज्नेभन्दा उत्तेजना फैलाउने गरी हलुका अभिव्यक्ति दिने काम रोक्न सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नीति तथा कार्यक्रममाथि जवाफं दिने क्रममा भारतको राष्ट्रिय प्रतिक र कोरोना भाइरसबारे दिएको अभिव्यक्तिले अनावश्यक विवाद र जटिलता थप्ने काम गरेको कांग्रेसको ठहर छ ।

कांग्रेस उप९सभापति बिमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले राष्ट्रवादका नाममा उत्तेजना फैलाउने काम नगर्न आग्रह गरेको हो ।

‘सरकारको नीति तथा कार्यक्रमममाथि उठेका प्रश्नहरूको उत्तर दिने क्रममा संसदीय मर्यादा र अभ्यास विपरीत प्रधानमन्त्री ओलीले छिमेकी मित्र राष्ट्रको प्रतिकका विषयमा गरेको टिप्पणी असंसदीय रहेको हुनाले यसबाट अनावश्यक विवाद र जटिलताहरू थपिएको छ,’ प्रतिष्ठानद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठानको दुई दिन बसेको बैठकबारे सार्वजनिक निर्णयमा सरकारलाई सीमा समस्या समाधानका लागि उच्चस्तरीय कुटनीतिक पहल गर्न भनिएको छ । लिपुलेक मार्गसँगै भारतसँग सीमा जोडिएका र उत्तर चीनतर्फ रहेका सीमा समस्याहरूको स्थायी समाधान खोज्न उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल गर्नुपर्ने प्रतिष्ठानको निष्कर्ष रहेको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्