Logo

एक ट्वीटका कारण विवादमा मनिषा



काठमाडौँ, ७ जेठ । अभिनेत्री मनिषा कोइराला एक ट्वीटका कारण विवादमा तानिएकी छिन्। कोइरालाको एउटा ट्विट भारतको मिडियालाई नेपाल विरुद्ध समाचार बनाउने मसला बनेको छ ।

नेपाल-भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट लेखेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध प्रश्न उठाएको हो। मन्त्रिपरिषद्ले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।

मन्त्री ज्ञवालीले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय।’ भन्दै ट्वीट गरेका थिए। सोही ट्वीटलाई रिट्वीट गर्दै मनिषाले लेखेकी थिइन्,’हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद। अब तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु।’ 

लगत्तै उक्त ट्वीटमा मिश्रित प्रतिक्रियाहरु देखिन थाले। नेपाली ट्वीटर प्रयोगकर्ता मनिषा र पक्षमा र भारतीय विपक्षमा। भारतीय टिभी च्यानल एबीपी न्यूजले त उनको ट्वीटलाई नै लिएर समाचार बनायो। जसमा लेखियो – भारतको नुन खाएर चीनको गीत गाउने?

यस विषयमा मनिषाले कुनै किसिमक प्रतिक्रिया जनाएकी छैनन्।

प्रतिक्रिया दिनुहोस्