Logo

बिद्यालय बन्द भएपनि ताप्लेजुङमा पाठ्यपुस्तक बिक्री सुरु



ताप्लेजुङ, ५ जेठ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणपछि गरिएको बन्दाबन्दीले हालसम्म बिद्यालयहरु सञ्चालनमा नआए पनि ताप्लेजुङमा पाठ्यपुस्तक बिक्री वितरण गर्न सुरु गरिएको छ । जिल्लास्थित नेपाल पुस्तक तथा स्टेशनसरी व्यवसायी महासङ्घले आइबारदेखि सामूदायिक बिद्यालयको पाठ्यपुस्तक बिक्री गर्न थालेको हो ।

आजभन्दा चारदिन अघि जिल्लामा सामूदायिक बिद्यालयका कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक ल्याइपु¥याएको र आइतबारदेखि बिक्री गर्न थालेको महासङ्घ ताप्लेजुङका अध्यक्ष दिनेश भट्टराईले जानकारी दिए ।

जिल्लामा पाठ्यपुस्तक आई पुगेपछि पुस्तक खरिदका लागि बिद्यालयहरुलाई सम्पर्कमा आउन आह्वान गरिएको र सोहीअनुसार धेरै बिद्यालयहरु सम्पर्कमा आएर खरिद गर्न थालेका भट्टराईले बताए ।

धेरै बिद्यालयहरु सम्पर्कमा आए पनि भीड हुने भएकाले बिद्यालयहरुलाई क्रमशः आउनलाई आग्रह गरिएको उनले जानकारी दिए । उनले महासङ्घमार्फत जिल्लाका करिव ७० प्रतिशत बिद्यालयमा पाठ्यपुस्तक जाने गरेको बताए । यसवर्ष कक्षा १ को एकहजार ४०० थान, कक्षा २ देखि ४ सम्मका एक हजार २०० थान तथा कक्षा ५ देखि १० सम्मका एक हजार थानका दरले पुस्तक ल्याएर महासङ्घले बिक्री वितरण गर्न थालेको छ ।

सामूदायिक बिद्यालयका अनिवार्य, ऐच्छिक विषयका पाठ्यपुस्तकहरु र ऐच्छिक विषयमा लिम्बूभाषाको पुस्तक आनीपान पनि कक्षा १ देखि ५ सम्मका ल्याएर बिक्री वितरण गर्दै आएको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार यसवर्ष कक्षा १, ७ र ८ को पाठ्यपुस्तकको मूल्य निक्कै बढेर आएको र अन्य कक्षाका पुस्तकहरुको मूल्य भने थोरथोरै वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्