बुटवलमा निधन भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

बुटवल, १७ चैत । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेसनमा भर्ना भई आइतबार निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ ।
परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।
उनको अर्को रिपोर्ट भने आउन बाँकी रहेको अस्पतालले जनाइएको छ । उनी वैदेशिक रोजगारीबाट यही चैत ६ गते स्वदेश फर्किएका थिए । घर फर्किंदाको अवस्थामै सामान्य ज्वरो आएकाले उनी एक साता घरमै आराम गरी बसेका थिए ।
एक सातासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा आइतबार पठाइएको थियो ।