Logo

शाही जिम्मेवारीबाट हट्ने बाहेक कुनै विकल्प थिएनः ह्यारी



एजेन्सी, ६ माघ । बेलायती राजकुमार ह्यारीले वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने आफ्नो निर्णयप्रति ठूलो दुःख व्यक्त गर्दै आफूसँग त्यसबाहेक “अरू कुनै विकल्प नभएको” बताएका छन् ।

उनी र उनकी श्रीमती मेगनले अब शाही पदहरूको प्रयोग नगर्ने र धेरै समय क्यानडामा बिताउने घोषणा गरेपछि ह्यारीले एक परोपकारी संस्थाको कार्यक्रममा पहिलो सार्वजनिक प्रतिक्रिया दिएका हुन् ।

उनले भने, “म र मेरी श्रीमती पछि हट्ने सम्बन्धमा गरेको निर्णय मैले हलुका ढङ्गले गरेको होइन। महिनौँदेखिको छलफल र वर्षौँदेखिको चुनौती पछि यो निर्णय गरिएको हो।”
उनले बेलायत आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने पनि बताए ।

उनले आफू र आफ्नी पत्नीले करदाताको पैसा नलिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर दुर्भाग्यवश त्यो हुन नसकेको धारणा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ । उनले आफू र मेगन टाढा भाग्न नलागेको पनि स्पष्ट पारे ।

यसै महिनाको सुरुमा ह्यारी र मेगनले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेका थिए । दक्षिणी अफ्रिकामा एचआईभीसहित बाँचिरहेका बालबालिकाका लागि ह्यारी सहसंस्थापक रहेको एउटा संस्थाले रकम जम्मा गर्नका लागि आयोजना गरेको कार्यक्रममा उनीले आफ्ना धारणाहरू राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्