Logo

उखु किसानलाई पैसा दिलाउन मन्त्रालयले चिठी काट्ने



काठमाडौं, ३ माघ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानलाई पैसा दिलाउन उद्योगीलाई चिठी काट्ने भएको छ।

उद्योगीले माघ ७ गतेसम्ममा किसानको सबै पैसा दिन्छु भनेर सरकारसँग प्रतिबद्धता जनाएका थिए। प्रतिबद्धता अनुरूप पैसा नदिए पछि मन्त्रालयले चिठी पठाउने निर्णय गरेको हो। उखु किसानले चिनी उद्योगीबाट ६ वर्षअघि देखिको उखुको पैसा लिन बाँकी छ। उद्योगीले पैसा नदिएपछि गत महिना उखु किसानमा उत्रिएका थिए।

आन्दोलोनरत उखु किसानलाई माघ ७ गतेसम्मा सबै पैसा दिन्छु भनी उद्योगीले सरकारसँग प्रतिबद्धता जनाएका थिए। सो अनुरूप माघको पहिलो हप्ता भित्रमा सबै पैसा तिर भनी मन्त्रालयले चिठी काट्न लागेको हो। ‘भुक्तानी धेरै गर्न बाँकी कुनै पनि चिनी मिलले धेरै पैसा दिएको देखिएन। त्यसैले चिठी काट्न लागेका हौं’, मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले भने, माघको पहिलो हप्ता भित्रमा पैसा तिरेनन् भने कडा कारबाही हुन्छ।’

मन्त्रालयले उद्योगीलाई आजै चिठी पठाउन लागेको प्रवक्ता भट्टराईले बताए।उनका अनुसार अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवालले ३ करोड ९० लाख, इन्दिरा र महालक्ष्मी मिलका मालिक विरेन्द्र कनौडीयाले साढे ११ करोड मात्र दिएको मन्त्रालयमा जानकारी आएको छ।

त्यस्तै इन्दिरा सुगर मिल्सले भने सबै पैसा चुक्ता गरेको मन्त्रालयलाई बताएको छ। श्री राम सुगर मिल्सले ४२ करोड रूपैयाँ दिन बाँकी रहेको उखु किसानहरूले बताएका छन्। महालक्ष्मी र इन्दिरा गरी दुई वटा सुगर मिल्सबाट २१ करोड भुक्तानी पाउन बाँकी छ। यी दुवै उद्योग विरेन्द्र कनौडीयाको हो।

त्यस्तै उद्योगी राकेश अग्रवालको अन्नपूर्ण चिनी मिल्सले ५० करोड दिन बाँकी रहेको छ।बागमती, एभरेष्ट, हिमालय, महाकाली, रिलायन्स, इन्दुशंकरलगायतका सुगर मिल्सले भने थोरै पैसा दिन बाँकी रहेको किसानहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्