Logo

दुई छोराहरूलाई विष खुवाउने आमालाई जन्मकैद



दैलेख, २९ पुस । आफ्ना दुई नाबालक छोराहरुलाई विष खुवाएर हत्या गरेको कसुरमा दैलेख महाबु गाउँपालिका १ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

२०७५ कात्तिक १० गते दिउँसो भुटेको भातमा मेटासिड घोलेर खुवाएपछि उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा सात वर्षीय जेठो छोरा आयुष नेपाली र तीन वर्षीय कान्छो छोरा अमित नेपालीको उपचारको क्रममा ज्यान गएको थियो । जिल्ला अदालत दैलेखका न्यायधीस दण्डपाणी लामिछानेको ईजलासले कल्पना नेपालीलाई सोमबार जन्म कैदको फैसला सुनाएको हो ।

२०७५ भदौ १ गतेदेखि लागू भएको ‘मुलुकी फौजदारी कसुर र सजाय ऐन २०७४’ को दफा १७७ अनुसार कल्पनाले ज्यान मारेको ठहरेको र त्यही ऐनको दफा ४१ बमोजिम खाद्यवस्तुमा विष हालि मारेको खुलेको कारण जन्मकैद गरिएको अदालतको फैसलामा उल्लेख छ ।

कल्पनाले श्रीमान्सँगको सामान्य विवाद भएको रिसमा तीन वटै छोरालाई भुटेको भातमा मेटासिड घोलेर खुवाएकी थिइन् तर ५ वर्षीय माइलो छोरा अमृतले भने भातबाट अनौठो गन्ध आएको भन्दै खान मानेनन् जसको कारण उनको ज्यान जोगियो । हाल उनी आफ्ना हजुरबुवा आमाको साथमा छन् ।

प्रतिक्रिया दिनुहोस्