Logo

ओली–प्रचण्डको च्याँखे राजनीतिले ‘सभामुख’ बिबाद लम्बियो



 काठमाडौँ, २९ पुस । नेपाली रजनीति कति निर्लज्ज हुँदैछ भन्ने सभामुख प्रकरणको सेरोफेरोमा देखिन थालेको छ । यो प्रकरणबाट के पनि देखिन थालेको छ भने सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पार्टी एकीकरणलाई आत्मसात नगर्ने, गुटभन्दा माथि नउठ्ने, गुट नै सबैथोक हो भन्ने प्रवृत्ति झाँगिदै गएको पनि प्रष्टिएको छ ।

सभामुख चयनका लागि हालकी उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनैपर्ने हन्छ । उनले राजीनामा दिइनन् र अहिलेकै अवस्थामा सभामुख चयनको प्रक्रिया अगाडि बढाइयो भने सभामुख पद नेकपा बाहेकका पार्टीको हातमा जानेछ । ०४७ सालदेखि प्रतिनिधि सभाको सभामुख बहुमत पक्षले लिने परम्परा विपरीत सभामुख पद प्रतिपक्षी दलहरु या साना दलहरुमा जानसक्ने सम्भावना देखिँदा देखिँदै पनि शिवमायाले राजीनामा दिन मानेकी छैनन् ।

शिवमायाले राजीनामा दिन नमान्नुका पछाडि के के राजनीतिक तत्व र स्वार्थ हावी भएको छ भन्ने आगामी दिनमा खुल्दै जाने नै छ । तर, यो प्रकरणमा नेकपाका दुई नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिचालन सही ढंगले गर्न नसकेको पनि स्पष्ट देखिएको छ । सभामुख चयन जस्तो गम्भीर विषयमा बेलैमा राजनीतिक निर्णय लिएर आगामी मार्गप्रशस्त गर्ने काम दुई नेताले गर्न सकेनन् । दुई नेता गम्भीर नभइदिँदा यो प्रकरणलाई अगाडि सारेर राजनीति धमिलो पार्न खोज्ने तत्वहरुले मौका पार्न खोजेको देखिन्छ । 

सार्वजनिक भइसकेको तथ्य के हो भने प्रचण्ड र ओली दुवैजना ‘आफ्नो मान्छे’लाई सभामुख बनाउन चाहन्छन् । आफ्नो मान्छेलाई सभामुख बनाउन चाहने दुई नेताको अडान नै अहिलेको गतिरोधको कारण भएको बताउँछन् नेकपाका एक स्थायी समिति सदस्य । उनको भनाइ छ– शिवमाया समस्या होइनन्, समस्या दुई नेताको अनिर्णय र अडानमा छ । 

उनका अनुसार दुई नेताले आफ्नो मान्छेमा अडान नलिएर ‘हाम्रो मान्छे’ लाई सभामुख बनाउन चाहेका भए यो गतिरोध आउने नै थिएन । यद्यपि, नेकपा सचिवालयले उपसभामुख शिवमायालाई राजीनामा दिन आग्रह गरिसकेको छ । सभामुख र उपसभामुखलाई पार्टीले निर्देशन दिन नमिल्ने भएकाले आग्रह गरिएको हो । तर, पार्टीको आधिकारिक निकायले गरेको आग्रहलाई शिवमायाले अवज्ञा गर्न खोजेपछि समस्या झन पेचिलो भएको छ । शिवमायाको भनाइ छ– पार्टीले भनेर म राजीनामा दिन्न । 

कृष्णबहादुर महराले सभामुख पदबाट पार्टी सचिवालयको आग्रह अनुसार राजीनामा दिएका थिए । सभामुखले पार्टीको आग्रह मान्ने तर उपसभामुखले नमान्ने अवस्था बिना कारण आएको होइन । पार्टीभित्र सभामुख बन्न लायक नेता तथा नेतृ धेरै छन् । उनीहरुमध्ये कसैको नाममा प्रचण्ड र ओलीले सहमति जुटाउने हो भने शिवमायाले राजीनामा दिनसक्ने अवस्था सिर्जना हुन्छ । तर, प्रचण्ड र ओली आफ्ना मान्छेभन्दा बाहेक ‘हाम्रा मान्छे’ खोजिरहेका छैनन् । 

प्रचण्ड र ओलीको साँढे शैलीको जुधाईमा शिवमाया भने बाच्छी बनेकी छिन् । अनावश्यक महत्वाकांक्षा राख्दा शिवमाया फसेकी छिन् । पार्टीले राजीनामा दिन आग्रह गर्दा उनले खुरुक्क राजीनामा दिएको भए पार्टी पंक्तिभित्र उनीप्रति सहानुभूति हुनसक्थ्यो । तर, उनले पार्टीलाई नै अवज्ञा गरिन् । शिवमाया पार्टी पद्धति नबुझेकी नेतृ होइनन्, तर, सभामुख बन्ने लालसामा उनले पार्टीको अवज्ञा गरेकी छिन् । उनलाई नै सभामुख बनाउने सहमति भयो भने पनि त्यो अवस्थामा उपसभामुख पदबाट उनले राजीनामा दिनैपर्ने हुन्छ । ‘राजीनामा दिन्न बरु महाभियोग सहन्छु’– भनेर उनले ठूलो राजनीतिक गतिरोधलाई आमन्त्रण गरेकी छिन् ।

शिवमायाप्रति सहानुभूति हुँदाहुँदै पनि उनले लिएको हठका कारण नेकपाका नेताहरु बिच्किएका छन् । रिपोर्टर्स क्लबमा हिजो आयोजित साक्षात्कारमा नेकपा नेता तथा प्रमुख सचेतक देव गुरुङले भने– ‘शिवमायाले राजीनामा दिन्न भन्न पाउनुहुन्न । उहाँले आफ्ना कारणले गतिरोध सिर्जना गर्न हुन्न ।’

शिवमायाले राजीनामा दिएपछि सभामुख कसलाई बनाइन्छ भन्ने अनिश्चित छ । उनले राजीनामा दिएपछि सभामुखका लागि उपयुक्त पात्र तत्काल अघि सारिने भनेर प्रचण्ड र ओलीले निकटहरुसँग भन्ने गरेका छन् । तर, नेकपाभित्र आफ्ना मान्छे खोज्ने प्रवृत्ति हावी भएसम्म सभामुखका लागि उपयुक्त साझा पात्र अगाडि सार्न सजिलो देखिएको छैन ।

यतिखेर शिवमायाले किन अनावश्यक अडान लिइन् भन्ने मूल प्रश्न बनेको छ । पार्टी एकीकरणको भावना र स्पिरिट विपरीत सभामुख पद आफ्ना मान्छेलाई दिने नियत प्रधानमन्त्री केपी शर्मा ओलीले बोकेका त छैनन् ? यही नियतलाई सघाउन शिवमायालाई च्याँखे थाप्न लगाइएको त होइन ? जताततै प्रश्न उठिरहेको भए पनि अहिले जवाफ मिलेको छैन । यस्ता प्रश्नको जवाफ खोज्दाखोज्दै राजनीतिक गतिरोध अझ लम्बिने चिन्ता बढेको छ । समयबद्ध साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्