Logo

‘कांग्रेसमा आन्तरिक हल खोजेर भित्र गति बढाउन आवश्यक’



काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुख्य दुई नेता पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक हल खोजेर भित्र अन्तरविश्वास र बाहिर गति बढाउन आवश्यक रहेको बताएका छन् ।

उनले शनिबार ट्विट गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको निर्णय नम्बर २ `समायोजन पश्चात् महाधिवेशन कार्यतालिका निर्माण गर्ने´ बमोजिम समायोजन चाँडो टुंग्याएर कार्यतालिका निर्माण गर्न जरुरी रहेको र त्यसअघि विवाद उपयुक्त नभएको बताएका छन् ।

प्रवक्ता शर्माले लेखेका छन्, “नेका केकासको अघिल्लो बैठकको निर्णय नं २ `समायोजन पश्चात् महाधिवेशन कार्यतालिका निर्माण गर्ने´ बमोजिम समायोजन चांडो टुंग्याएर तालिका निर्माण गर्न जरुरी छ,त्यस पुर्व विवाद उपयुक्त छैन ! मुख्य द्वयनेताले आजको छलफलबाट आन्तरिक हल खोजेर भित्र अन्तर्विश्वास र बाहिर गति बढाउन जरुरी छ ।”

बिहीबार बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाले विभाग गठनको प्रस्ताव गरेको र पौडेल समूहले महाधिवेशनको कार्यतालिकासम्बन्धी छलफल हुनुपर्ने अडान राखेका थिए । दुबै नेताले आ-आफ्नो अडान नछोडेपछि वरिष्ठ नेता पौडेलले बैठक बहिष्कार गरेका थिए ।

दुबै नेता आज फेरि छलफलमा जुटेका छन् । शनिबार बिहान करिब १० बजे उपसभापति विमेलन्द्र निधिलाई साथ लिएर सभापति देउवा वार्ताका लागि पौडेल निवास बोहोराटार पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्