Logo

प्रेस युनियनको महाधिवेशन अन्तिम समयमा रद्द



काठमाडौं, २६ मंसिर । नेपाल प्रेस युनियनको मंसिर २८ र २९ गतेका लागि निर्धारित महाधिवेशन अन्तिम समयमा आएर रद्द भएको छ । युनियनका अध्यक्ष बद्री सिग्देलले विज्ञप्तिमार्फत निर्धारित मितिमा नवौं महाधिवेशन नहुने जानकारी दिएका हुन् ।

सिग्देलले विज्ञप्तिमा लेखेका छन्, ‘लोकतन्त्रको प्रमुख आधार मध्येको एक आवधिक निर्वाचनको पक्षमा युनियन रहँदारहँदै पनि निर्धारित समयमै महाधिवेशन गर्न नसक्नु हाम्रो विवेकपूर्ण अपरिहार्य वाध्यता हो ।’ ‘विवेकपूर्ण अपरिहार्य वाध्यता’ के हो भन्नेचाहिँ विज्ञप्तिमा खुलेको छैन ।

गत साउन २२ गते बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति तय गरेको थियो । त्यतिबेला डोल्पा र मुस्ताङ बाहेक सबै जिल्ला शाखा, उपशाखा र प्रतिष्ठान शाखामा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिइएको थियो ।

तर अध्यक्ष सिग्देलले भने एक दर्जनभन्दा बढी जिल्लामा अझै पनि अधिवेशन हुन नसकेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘करिब एक दर्जन जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन अझै पनि हुन नसकेको र केही जिल्लामा सहमती हुन बाँकी रहेको परिस्थितिले पनि महाधिवेशनलाई केही प्रभाव पारेको यथार्थ कतैबाट लुकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्