Logo

सेज आइटी पार्कजस्तो नहोस्ः अर्थमन्त्री खतिवडा



काठमाडौँ, २१ मंसिर । अर्थमन्त्री डा युवराज खतिवडाले पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज) बनेपाको आइटी पार्क जस्तो प्रयोगविहीन नबनाउन आग्रह गरेका छन् ।

उनले आज पाँचखाल नगरपालिका–८ मा निर्माणाधीन सेजको निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधिसँग निर्माण तथा प्रयोगमा तदारुकताका साथ लाग्न आग्रह गरेका हुन् । “बजेटको कमी हुँदैन, बजेट अभावले काम रोकिँदैन, हामीले उद्योग मन्त्रालयसँग यसबारे समन्वय गरिरहेका छौँ”, उनले भने । उहाँले भौतिक संरचना निर्माण भइसकेपछि कतिपयमा सरकारको ध्यान नजाने भएकाले आफूहरुलाई झकझकाउन आग्रह गरे ।

मन्त्री खतिवडाले बनेपामा निर्माण भएको आइटी पार्क बिजोक अवस्थामा रहेकामा दुःखेसो पोखे । उनले भने, “बनेपाको आइटी पार्क बिजोक अवस्थामा छ, अर्बौं लगानी गरियो, अहिले प्रयोगविहीन अवस्थामा छ, यो निकै दुःखलाग्दो विषय हो ।” दुई सय ५७ रोपनीमा फैलिएको आइटी पार्कमा दुई ठूला प्रशासनिक भवन, चार सुविधासम्पन्न आवासीय भवन तथा अन्य आवश्यकीय गरी नौ भवन प्रयोगविहीन अवस्थामा छन् ।

मन्त्री खतिवडाले धुलिखेलदेखि चीनतर्फको सडक विस्तार गर्ने तयारी भइरहेको उल्लेख गर्दै सडक विस्तारपछि पाँचखालको भविष्य उच्च रहेको बताए । “सेजभित्र व्यवसाय गर्न सुरक्षित वातावरण आवश्यक पर्ने भएकाले विशेषगरी स्थानीय जनप्रतिनिधिले सुरक्षामा ध्यान दिनुपर्दछ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्