Logo

ताप्लेजुङका बिद्यालयको संरचना फेरिँदै



ताप्लेजुङ, १६ मङ्सिर । ताप्लेजुङका बिद्यालय संरचनाहरुको मुहार फेरिँदै गएको छ । केही वर्षयता हुमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) नामक संस्थाले बिद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गरेसँगै जिल्लाका बिद्यालयहरुको मुहार फेरिँदै गएका हुन् ।

एचपीएफले बिद्यालयको पूर्वाधार निर्माण, प्रवलीकरण तथा मर्मतसम्भार लगायतका क्रियाकलापमा आर्थिक सहयोग गर्दै आएको छ । हालसम्म जिल्लामा दर्जनौ बिद्यालयहरुको नयाँ भवन, शौचालयहरु निर्माण भएका छन् भने बिद्यालयमा कम्प्युटर, पुस्तकालय लगायत शैक्षिक सामग्रीहरु एचपीएफले व्यवस्थापन गरिदिएको छ । यसरी शिक्षा क्षेत्रमा लगानी गरी सहयोग गर्दै आएको संस्था एचपीएफले अझै दुई वर्षसम्म आफ्नो क्रियाकलापलाई निरन्तरता दिने भएको छ ।

आगामी सन् २०२२ सम्म काम गर्नेगरी नेपाल सरकार र समाज कल्याण परिषद्बाट अनुमति लिएर एचपीएफले सो अवधिसम्मका लागि बिद्यालय पूर्वाधारका कार्ययोजना समेत तयार पारेको जनाएको छ ।

एचपीएफका जिल्ला कार्यक्रम प्रवन्धक अमित श्रेष्ठका अनुसार थप भएको कार्य अवधि अर्थात सन् २०२२ भित्र ताप्लेजुङमा १९ वटा बिद्यालयको भवन निर्माण र आठवटा बिद्यालयको मर्मतसम्भार तथा प्रवलीकरण गरिने छ ।

बिद्यालय व्यवस्थापन समितिको साझेदारीमा पहिलो चरणमा २४ वटा बिद्यालयको भवन निर्माण हुनुपर्नेमा १५ वटा मात्र निमार्ण कार्य पूरा भएको बाँकी सातवटा निर्माणाधीन अवस्थामा रहेका छन् । दुईवटा बिद्यालयको भवन भने निर्माणका लागि प्रक्रिया अघि बढाइएको एचपीएफले जनाएको छ ।

एचपीएफका अनुसार दोस्रो चरण अर्थात सन् २०२२ भित्र नयाँ भवन निर्माण, मर्मत तथा प्रवलीकरणका लागि थप २७ बिद्यालयको भौतिक संरचना निर्माणको कार्य अघि बढाउने प्रक्रिया सुरु भइसकेको छ ।

यस्तै हालसम्म एचपीएफमार्फत विभिन्न बिद्यालयमा १२ वटा शौचालय निर्माण कार्य पूरा भएका छन् । नौ वटा निमार्णाधीन अवस्थामा रहेको कार्यक्रम प्रवन्धक श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभिन्न ११ वटा बिद्यालयमा खानेपानी योजना पूरा भएका छन् भने बाँकी एउटा बिद्यालयमा खानेपानी निर्माणको कार्य भइरहेको छ । बिद्यालयको भौतिक पूर्वाधारतर्फको बजेट साढे ३२ करोड ७० लाख ११ हजार ५२४ मध्ये अहिलेसम्म १४ करोड ६९ लाख ६३ हजार ५२४ रुपियाँ खर्च भइसकेको श्रेष्ठले जानकारी दिए ।

यस्तै एचपीएफले अहिलेसम्म जिल्लाका १८ वटा बिद्यालयमा कम्युटर प्रयोगशाला तथा २२ वटा बिद्यालयमा पुस्तकालय स्थापना गरिदिएको छ । त्यस्तै १२ वटा बिद्यालयमा विज्ञान प्रयोगशाला र १४ वटामा खेलमैदान व्यवस्थापन गरी खेल सामग्री व्यवस्थापन गरिदिएको छ ।

यस कार्यका लागि १० करोड २५ लाख २५ हजार रुपियाँ कूल बजेटमध्ये दुई करोड ९३ लाख ५६ हजार ८९ रुपियाँ खर्च गरेको छ । आगामी दिनमा समेत यि क्रियाकलापलाई निरन्तरता दिनेगरी गृहकार्य भइरहेको कार्यक्रम प्रवन्धक श्रेष्ठले जानकारी दिए ।

यता मधुमेह रोकथाम कार्यक्रमअन्तर्गत साप्ताहिक पाक कक्षा, मधुमेह रोकथाम सम्बन्धी विविध जनचेतनामुलक कार्यक्रम, मधुमेह परीक्षण कार्यक्रम र बिद्यालय स्तरमै मधुमेह निवारणका लागि सहयोग गर्ने सागसब्जी उत्पादन गर्न करेसाबारी निर्माण लगायतका कार्यहरुमा पनि एचपीएफले सहयोग गरेको छ ।

गुणस्तरीय सिकाइ र प्रभावकारी शिक्षणका लागि बिद्यालय स्तरमा रचनात्मक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । उक्त कार्यहरुका लागि एचपीएफले अहिलेसम्म करिब दुई करोड रुपियाँ खर्च गरिसकेको जनाएको छ ।

कार्यक्रमको निरन्तरता स्वरुप शिक्षाका मुख्य सरोकारवाला शिक्षक, बिद्यार्थी, अभिभावक, बिद्यालय व्यवथापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीलाई क्षमता अभिवृद्धि तालिम दिने कार्यको तयारी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्