Logo
  बैशाख ३१, २०७८ शुक्रबार

खामे समाचारको हरक नै बेग्लै !



‘हैन एइ केटा ! हिजोआजका पत्रकारहरूको कुरो पटक्कै बुझ्न छोडियो । म उस्तो कि, पत्रकार उस्ता ? हुन त अलिक बुढो पनि भइयो, आफ्ना समयका कुरा खोजेर कहाँ पाइन्छ र ! तर पनि समाचार सुन्छु–पढ्छु, चित्तै बुझ्दैन । देशमा धेरै कुरा ओरालो लागेजस्तै कतै पत्रकारिता पनि ओरालो लाग्या त होइन ? लु… यसको कुरोको चुरो पक्रिएर कैरन कोरल त केटा’ भन्दै माइलाबाले सिकुवाको चिमे टाँडमा आसन जमाए ।

भयो चाहिँ के, त्यो भन्नु न भनेर मैले सोधेपछि उनी एकतमासले बक्न थाले–‘कहाँ कहिले कस्को आयोजनमा के कार्यक्रम भयो । सभापति को, प्रमुख अतिथि को, विशिष्ट को–को, स्वागत भाषण कस्को, वक्ता को–को, कार्यक्रम सञ्चालक को, अझ त्यसमाथि उपस्थित अथवा आथित्यता गर्नेसम्मको––– लगभग पचास वटा जति नामै मात्र किन कोच्याएका ? मान्छेका नाम सुन्नलाई मात्र पत्रिका पढिदिनु पर्ने, रेडियो सुनिदिनु पर्ने ?’ मैले बीचैमा भने– कार्यक्रममा उपस्थित मान्छेको नाम त आइहाल्छ नि ! कुन अनौठो कुरो भयो र ।

त्यत्ति भन्दिएको के थिएँ, बुढा निकै चड्किएर बोले– ‘तँ पनि काम नलाग्ने मान्छे भइछस् । कुनै पनि कार्यक्रमको आवश्यकता, उद्देश्य, प्रयोजन के हो ? त्यो कार्यक्रमबाट के उपलब्धि भयो ? यस्ता कुराको छ्याङ्ग खुलासा गर्नु पर्दैन ? फलाना–फलाना यत्ति जनाले यत्ति बोले भन्ने खबर आउँछ । तर, के बोले, के कस्ता राम्रा नराम्रा विचार व्यक्त गरे – त्यो चुरो कुरो चाहिँ समाचारमा आउनु पर्दैन ? उक्त कार्यक्रमले देशदुनियाँको के भलो गर्यो ? त्यो कार्यक्रम नभएको भए कुन कुराबाट बञ्चित रहनु पथ्र्यो इत्यादि कुरा केही छैन बित्थाँ पचासौं मान्छेका नामावलीको लिष्ट ! निर्वाचनका बेलाको मतदाताको नामावली जस्तो !…’

‘…हिजोआज हुने गरेका कार्यक्रमहरूको राम्रो खैखबरी मिडियाले ल्याएनन्, बरु आफै जानु पर्यो भनेर एउटा कार्यक्रममा गएको; त्यहाँ झन् भद्रगोल ! खाम खोया खाजाको बन्दोबस्त भएका कार्यक्रममा पत्रकारदेखि अलपत्रकारसम्मका मान्छे मुन्टो टेकेर पुग्दा रहेछन् । त्यो छैन भन्ने बुझे भने चाहिं कार्यक्रम कसले गरेका हो, त्यसकै मात्र दुई–चार मान्छे भेला हुँदा रहेछन् । खाम कार्यक्रममा पत्रकार आफैं समाचार बनाउन पुग्दा राँन् । कार्यक्रम आयोजकलाई बेलुकै फोन गरेर सोद्धा राँन् । अरु कति आयोजकले त हामीले यस्तो कार्यक्रम सम्पन्न गरेउँ, छापिदिनु पर्यो भनेर रिपोट पुर्याउँदा राँन् । त्यस्ता टिपोटमा मान्छेका नाउँ बाहेक अर्थाेक के होस् त !…’

‘…अँ, म आफैं कार्यक्रममा गएको कैरन गर्दै थिएँ । बाह्र बजे भनेर बोलाएको कार्यक्रम प्रमुख अतिथिले ढिलो गरेर डेढ बजे शुरु भयो । डेढ बजेसम्ममा शुरुमा आएका मान्छे हिँडिसकेका थिए । हिँड्ने मान्छे भन्दै थिए–समयमा आउन नसक्ने मान्छेले किन प्रमुख अतिथि स्वीकार गर्नु ? त्यस्ता नभ्याउने, समयमा नआउने लापर्वाह मान्छेलाई किन प्रमुख अतिथि बनाउनु ? एक जना मान्छेले सयौं मान्छेलाई रुँगाउनु हुन्छ ? डेढ घण्टाका दरले एक सय मान्छेको डेढसय घण्टा झण्डै एक हप्ता समय बर्बाद !…’

‘…बल्लतल्ल डेढ घण्टापछि शुरु भएको कार्यक्रममा उद्घोषकले आधा घण्टा आफ्नो लेक्चर सुनाए । त्यसपछि चल्यो आसनग्रहण कार्यक्रम ! मान्छेका नाउँका अगाडि चाहिंदा नचाहिंदा विशेषणका फुर्का लगाएर सबका सब मान्छेको नाउँ लिनु पर्ने ! घुस खाँदा–खाँदा अहिले रिटायर भएर पेन्सन खाँदै गरेको एउटा मान्छेलाई समाजसेवी भनेर बोलाए । केही विशेषण नभएको मान्छेलाई समाजसेवी भन्नु पर्दाे रहेछ भन्ने ब्रह्मज्ञान मैले पनि पाएँ । त्यति गर्दा दिन पूरै ढलिसकेको थियो, त्यहाँको चाला हेर्दा त्यस दिन आसनग्रहण सकेर भोलिपल्ट कार्यक्रम गर्दा होला जस्तो मैले ठानें । कार्यक्रममा दुई–चार जना आयोजक मात्रै हुने, अरु कोही मान्छे किन जाँदैनन् भन्ने कुराको गुह्य पनि मैले बल्ल पो बुझें ।…’

‘…स्वागत भाषण गर्नेले पनि मज्जैले जिब्रो फड्कारेर आधा घण्टा जति उनका कुरा सुनाए । त्यस कार्यक्रममा एक जना समाजसेवीलाई टोपी लगाइदिने र धुस्सा ओढाइदिने चाँजो मिलाएका रहेछन् । त्यस दिनको कार्यक्रमको खर्च तिनै समाजसेवीले व्यहोरेका अरे भनेर केही मान्छेले खस्याकखुसुक गरेको मेरो कानमा पनि पर्यो । टोपी–धुस्सा, चिया–बिस्कुटलाई पुगेर पनि आयोजकलाई केही नाफा समेत हुने गरिको कार्यक्रमको व्यापार रहेछ भन्ने कुरा प्रायः सबैले बुझे । मैले त बुझें भने अरुको के कुरा !…’

‘…त्यसपछि शुरु भयो समाजसेवीलाई धुस्सा ओडाउने कुरा । प्रमुख अतिथिले धुस्सा ओडाए, सभापतिले टोपी लगाएदिए, विशिष्ट अतिथिले माला लगाइदिए, अरु उपस्थित सबैजसोले अबीर, सिन्दुर गाजल ! अनि त्यही रन्कोमा सबले आ–आफ्नो मोबाइल तिखारेर फोटो खिच्न थाले । कतिले समाजसेवीसँग टाँसिएर सेल्फी हान्न थाले । फोटोकै कारण लगभग कार्यक्रम नै ढिसमिस जस्तै भयो । उद्घोषक खै के भन्दै थिए, त्यही बेलामा चिया–बिस्कुट आयो, सबै त्यतै भिडे । चिया खाइसकेपछि दुई–चार मान्छे मात्रै बाँकी रहे । मैले पनि यसो बाहिर हेरेको, घाम पहेंला भइसकेछन् । गाई दुहुन ढिलो हुन्छ, मार्छे बुढीले भनेर कार्यक्रमको अन्तेष्टि नगरी चम्पट कसें । त्यसपछि कस्ले बोले, कस्ले सुने – थाहापत्तो भएन ।…’

‘…बेलुका घरको कामधन्दा सकेर रेडियो खोलेर समाचार सुनेको त हिजोआजका च्याउसरिका एफेम.रेडियाले जुकेखाडीदेखि पेरुसम्मका समाचार बियाँ कनिका सहित ह्वारह्वारी ओइरो झार्ने गाउँका टुक्टुके मिलले जस्तै समाचार झार्यो । कार्यक्रमको समाचारमा पचास जना जतिको नाउँ भट्यायो । मेरो पनि नाउँ आउला र बुढीलाई सुनाउला भनेको, तर अलच्छिनाले मेरै चाहिं नाम छुटाएछन् । रिस रिस उठ्यो, रेडियो मार्दिएँ ।…’

‘…मैले कार्यक्रमबाट हिँड्ने बेलामा एक जना मान्छेलाई खुसुक्क सोधेको थिएँ– यस कार्यक्रममा खामसाम त बाँड्दैनन् ? उनले मलाई झपार्दै भनेका थिए– तिमीलाई बाँड्छन् त बुढा ! पत्रकारहरूलाई पो यहाँ जे जे भए पनि समाचार चाहिं राम्रो बनाएर प्रचारप्रसार गरिदिनु भनेर दिन्छन् त ! तेतिखेर चाहिं मलाई पत्रकारको परिचयपत्र नबनाएकोमा निकै पछुतो पनि लाग्यो । बिहारीले नागरिकता बनाएजस्तै सजिलै हुने त्यत्ति जाबो परिचयपत्र नहुँदा खाम गुमेकोमा औधि दुःख लाग्यो ।…’

‘…त्यो कार्यक्रममा दिनभरि गएर बित्थाँ बसिएछ । कार्यक्रम परेछ फोस्रो, न कामको, न खामको, न नामको, न हामको ! यस्तै हुँदा राँन् हिजोआजका कार्यक्रमहरू । पत्रकारले पनि के पो लेखिदिउन् र भनिदिउन्, मान्छेका नाम बाहेक । एकप्रकारले चित्त बुझाएँ । अहिलेका कार्यक्रममा उपस्थित प्रायः सबैले बोल्नै पर्ने, आफू बोलिसकेपछि अन्तको कार्यक्रम पनि भ्याउनुछ भन्दै झोला टिपेर टाप कस्नै पर्ने । अरुका कुरा सुन्ने धैर्यता त पिटिक्कै कसैमा पो देखिएन । साहित्यिक, सामाजिक र तल गाउँ वडास्तरका राजनैतिक कार्यक्रमहरू त झन् सचिवले माइनटमा शब्द सिँगारेर, वाक्य खिपेर तयार गरी साइकलमा मान्छेका घरघर पुगेर सही गराउँदै हिँड्ने र सही भइसकेपछि त्यसको एउटा फोटोकपी पत्रकारलाई दिएर प्रचारप्रसार गरिमाग्नेसम्मका कार्यक्रम र बैठकहरू चल्दा राँन् ।…’

‘…खाम कार्यक्रम चाहिं अलिक टेसिलै हुन्छ क्यार ! त्यस्तो कार्यक्रममा भाग लिने मौका चाहिं पाइएन । तातो माडमा पल्केको कुकुरले शरीरको सबै भुत्ला झरेर खुइलिएको पत्तो नपाए झैं खामका पछि दौडनेहरूले अझै पनि आफ्नो इज्जत आब्रुक, मर्यादा खुइलिएको भेउ पाएका छैनन् !

नाकमा घिउ दलेको ढाडेले जे पायो त्यही खाने–नखाने चिज खाए झैं एनजीओ–आइएनजीओले धेरै नेपालीको नाकमा डलर दलिदिएका छन् । त्यही डलरको गन्धले गर्दा तिनले गर्ने–नगर्ने सबै गरिरहेका छन् । यो रोगले स्वास्थ्य, शिक्षा, न्याय, प्रशासन, कानून, सुरक्षा, विज्ञान, समाज, पत्रकारिता सबै क्षेत्रमा डलरे–घुसे–कमिशने भाइरसको संक्रमण गराइदिएर मान्छेका बुद्घि विवेकलाई पंगु ग्रस्त बनाइदिएको छ ।…’

खाम पत्रकारिताको एउटा विशेषता चाहिं राम्रो रहेछ । सानोभन्दा सानो कुरालाई वा कार्यक्रमलाई पनि बेलुन फुलाए झैं फुलाएर प्रस्तुत गरिन्छ । तर, त्यो सानो छेस्कोले छुस्स पार्दा सकिन्छ पनि । समाचार पढ्दा र सुन्दा त्यो समाचारै हो कि, खाम–समाचार हो – त्यसको हरकबाटै थाहा हुन्छ ।

बुढाले फेरि थपे– ‘म पनि अब त अलि जान्ने बुझ्ने भएँ नि ! तँ बोल्दैनस्, म मात्रै कति भट्याउनु ! अब कतै खाम कार्यक्रम थाहा पाइस् भने मलाई पनि खबर गरेस् है…’ भन्दै बुढा उठेर बाटो लागे ! उनी बोल्न थालेपछि बेलगाम बोल्छन्, आफूलाई बोल्न पालो दिए पो बोल्नु ! विचित्रै छन् यी माइलाबा पनि ।

प्रतिक्रिया दिनुहोस्