Logo

पाथीभरा मन्दिरको बैंक खातामा पाँच करोड मौज्दात



ताप्लेजुङ, २२ कात्तिक । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको नाममा सङ्कलित रकम हालसम्म करिव पाँच करोड रुपियाँ पुगेको छ ।

भेटी लगायत अन्य शीर्षकमा सङ्कलन भएको उक्त रकम बराबर जनस्तरबाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र पाथीभरा भेटीपाती व्यवस्थापन समितिको बैङ्क मौज्दात रहेको देखिएको हो ।

दुईवटै निकायले सार्वजनिक गरेको विवरणअनुसार पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको खातामा तीन करोड १४ लाख २१ हजार ५५६ रुपियाँ रहेको र पाथीभरा भेटिपाती व्यवस्थापन समितिको खातामा एक करोड ८० लाख २७ हजार ९५८ रुपियाँ मौज्जाद रहेको छ ।

भेटीपाती व्यवस्थापन जनस्तरको संरक्षण समिति र सरकारी स्तरको पाथीभरा क्षेत्र विकास समिति दुवैको प्रतिनिधित्व रहेको समिति हो । जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको नेतृत्वमा रहेको भेटीपाटी व्यवस्थापन समितिले हाल पाथीभराको भेटी रकम, अन्य धातुहरु सङ्कलन गर्दै आएको छ ।

यता संरक्षण तथा सम्वद्र्धन समितिले भने आफ्ना विभिन्न सदस्य साथै दाताहरुबाट प्राप्त सहयोग रकम सङ्कलन गर्ने गरेको छ । सम्वद्र्धन समितिका कर्मचारी नवीन निरौलाका अनुसार चालू आर्थिक वर्षको हालसम्ममा मात्र समितिले बिशिष्ट सदस्यबाट ११ लाख पाँच हजार रुपियाँ तथा आजीवन सदस्यबाट एकलाख ६३ हजार ५० रुपियाँ र दाताको सहयोगबाट छ लाख ७५ हजार रुपियाँ सङ्कलन गरेको छ । समितिले चालू आवको हालसम्मको अवधिमा आम्दानीभन्दा खर्च बढी गरेको पनि जनाएको छ ।

पाथीभरा क्षेत्रको फेदीमा कलात्मक तामाको प्रवेशद्वार निर्माण गरेका कारण ठूलो खर्च भएको समितिले जानकारी दिएको छ । यस अवधिमा १९ लाख ४३ हजार ५० रुपियाँ आम्दानी गर्दा खर्च भने २६ लाख ८५ हजार ९२४ रुपियाँ भएको समितिले शुक्रबार सार्वजनिक गरेको आयव्यय विवरणमा उल्लेख छ । यसै समितिले भेटीपाती व्यस्थापन समिति गठन हुनुअघि भेटी रकम र अन्य धातुहरु सङ्कलन गर्ने गरेको थियो ।

यता पाथीभरा भेटीपाती व्यवस्थापन समितिको खातामा भने हाल एक करोड ८० लाख २७ हजार ९५८ रुपियाँ मौज्जाद रहेको जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी सदस्यसमेत रहनुभएका भेटीपाती व्यवस्थापन समितिका सदस्य गोपाल न्यौपानेका अनुसार व्यवस्थापन समितिले एक करोड ४१ लाख सात हजार ५३८ रुपियाँ खर्च गरेको छ ।

समितिले सबैभन्दा मोटो रकम पाथीभरा क्षेत्रको मोटरबाटो निर्माणमा खर्च गरेको जनाएको छ । खर्च विवरणअनुसार ७९ लाख ९१ हजार ६६८ रुपियाँ मोटरबाटो मर्मत लगायतका कार्यमा खर्च गरेको छ । त्यसपछि कर्मचारीको तलब भत्तामा खर्च भएको समितिले जनाएको छ ।

कर्मचारीका लागि भेटीपाती व्यवस्थापन समितिले तीन लाख ६१ हजार ५०० रुपियाँ खर्च गरेको छ । यस्तै समितिले भेटी रकम गणना तथा सिक्का ढुवानी र सटिङ कार्यमा १० लाख ४३ हजार १८२ रुपियाँ खर्च गरेको छ ।

सिक्का गणनामा मात्र दुई लाख ९८ हजार ४७५ रुपियाँ र सिक्का ढुवानी तथा सटिङ कार्यमा सात लाख ४४ हजार ७०७ रुपियाँ खर्चिएको समितिले जानकारी दिएको छ । चालू आवको साउनदेखि कात्तिक १५ गतेसम्ममा २८ लाख २० हजार ५८४ रुपियाँ भेटी रकम सङ्कलन भएको पनि समिति संयोजक घनेन्द्र मादेनले जानकारी दिनुभयो । मादेनका अनुसार सो रकम सिक्का र सुनचाँदी बाहेक सङ्कलित नगद रकम हो ।

प्रतिक्रिया दिनुहोस्