Logo

सडक निर्माणमा लापरवाही, अस्तव्यस्त बिर्तामोड



झापा, २२ कात्तिक । झापाको बिर्तामोड–भद्रपुर खण्डको चार किलोमिटर सडक निर्माणमा ढिलासुस्ती हुँदा बिर्तामोड अस्तव्यस्त भएको छ । सडकको आसपास बसोवास गर्ने स्थानीय र यात्रुले सास्ती व्यहोर्न बाध्य भएका छन् ।

सडक खनिएको छ, ढल निर्माणको काम सुस्त गतिमा भएकाले बर्षामा हिलाम्मे र घाम लाग्दा धुलैधुलो भएको छ । बिर्तामोडको मुक्ति चोकदेखि हर्कलाल मार्गको पूर्वी भागसम्म सडक अस्तव्यस्त भएको छ । हिलो र धुलो त छ नै, सडकमा खाल्डै खाल्डा हुँदा सवारी साधान संचालन गर्नै समस्या भएको छ ।

सडक निर्माण कार्यमा ढिलासुस्ती भएपछि नागरिक सडक सङ्घर्षमा उत्रिएका छन् । निर्माण सम्झौता सकिन लाग्दासमेत निर्माण कार्यले गति नपाउँदा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा नागरिक सडक सङ्घर्षमा उत्रिएका हुन् । “सम्झौता अवधि सकिन लाग्दा पनि अपेक्षाकृत काम भएको छैन’, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले भने, “समयमै सडक निर्माण होस् भन्ने उद्देश्यले खबरदारी गर्न लागेका हौँ ।”

बिर्तामोडको व्यावसाय चौपट त भएकै छ, सडकको हिलो, धुलो र खाल्डाका कारण मानिसको स्वास्थ्यमा प्रतिकूल असर गरेको छ । सडक निर्माणको माग गर्दै बिर्तामोडका युवाले गएको बर्षामा हिलाम्मे भएपछि सडकमै धान रोपाईँ गरेका थिए । सडक निर्माणमा दबाब दिन प्रदर्शन भएपनि सुनुवाई हुन सकेको छैन ।

बिर्तामोड बजार क्षेत्रको अढाइ किलोमिटर सडक चार लेनको र बाँकी डेढकिलोमिटर सडक दुई लेनको बनाउने गरी आशिष प्रेरा जेभिसँग सडक डिभिजन कार्यालय दमकले रु २७ करोडमा ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौता अवधि सकिन दुई महिना मात्रै बाँकी छँदा २० प्रतिशत पनि काम पूरा नभएको स्थानीयवासी बताउँछन् ।

स्मार्ट सिटीको अवधारणा अनुसार बिर्तामोड बजारक्षेत्रभित्रको सडकलाई चार लेनको बनाउने तयारी भइरहँदा ठेकेदारको कार्यशैली भने लापर्वाही देखिएको सामाजिक अगुवा मदनगोपाल सुब्बाले बताए । “धेरैको चासो र चिन्ता भएको यो सडकमा लापरवाही हुनु गैरजिम्मेवारी हो”, सुब्बाले भने, “त्यसैले सडकमा उत्रिएका छौँ ।”

बिर्तामोड खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ सडक निर्माणमा भएको ढिलासुस्तीले जनताको आक्रोस बढ्दै गएको बताए । “चार किलोमिटर बाटो बनाउन यति धेरै ढिलासुस्ती छ”, उनले भने, “अरु कति योजना अलपत्र होलान् सहजै अनुमान गर्न सकिन्छ ।” उनले विकासका लागि नागरिक खबरदारी जारी रहने बताए ।

यो सडक खण्डमा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे नियति जस्तै बनेको छ । गत असारमा बिर्तामोडको भद्रपुर रोडमा स्थानीयवासीले धान रोपाइँ गरेर विरोधसमेत जनाएका थिए । तर, विरोध गरेपनि सरोकारवाला निकायको कानमा बतास चलेको छैन । बल्लतल्ल ठेक्का लागेको भए पनि अपेक्षा अनुसार निर्माण अघि बढ्न सकेको छैन ।

ढल निर्माणका लागि सडक किनारमा खनिएको खाल्डोमा परेर एक जनाको मृत्युसमेत भइसकेको छ । सटर भाडामा लिएर व्यवसाय गरिरहेकाको व्यापार त चैपट भएको छ नै धुलोले स्वास्थ्यमासमेत प्रतिकुल असर परिरहेको छ ।

बिहानदेखि राति अबेरसम्म बाक्लो जनचाप हुने बिर्तामोड–भद्रपुर सडक निर्माणमा भएको ढिलाइप्रति यात्रुहरु पनि आक्रोसित छन् । सामाजिक अगुवा रञ्जु प्याकुरेल बजार क्षेत्रभित्रको सडकको हालत सधैँ यस्तो देखिनुले जनप्रतिनिधिलाई गिज््याइरहेको बताइन् । “स्थानीय सरकारलाई मात्रै होइन माथिल्लो तहका जनप्रतिनिधिका लागि पनि यो लाजमर्दाे विषय हो”, उनले भनिन्, “अब सडक निर्माणका लागि आन्दोलनको अगुवाई नगर प्रमुख र उपप्रमुखले गर्नुपर्छ । हामी साथ दिन तयार छौँ ।”

सडकमा धुलो कम गर्न बिर्तामोड नगरपालिकाले सडकमा लाखौँको पानी हाले पनि धुलो नियन्त्रण हुन सकेको छैन । ठेक्का एउटाले लिने, पानी नगरपालिकाले हाल्नु पर्ने अवस्था छ ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस्