Logo

निर्मला प्रकरणमा डिएनएलाई प्रमाण मान्न नमिल्ने



काठमाडौँ, २१ कात्तिक । कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ।

निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य पुरुषको हो या होइन भन्ने पुष्टि नभएको भन्दै त्यसलाई प्रमाण मान्न नसकिने समितिको प्रतिवेदनमा उल्लेख छ।

गत भदौ २६ गते गृहमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको प्राविधिक अनुसन्धान समितिले केही दिनअघि बुझाएको प्रतिवेदनमा प्रयोगशालामा भेटिएको बिर्य ‘भेरिफाई’ नै गर्न नसकिएको उल्लेख छ।

कञ्चनपुर प्रहरीले गत वर्षको भदौ ४ गते दीलिपसिंह बिष्टलाई बयान र अन्य प्रमाणका आधारमा सो घटनामा संलग्न भएको पाइएको भन्दै सार्वजनिक गरेको थियो ।

तर, बिष्टको डिएनए परीक्षण हुँदा मेल नखाएकाले उनलाई प्रहरीले अदालतमा पेस गर्न सकेन। गृह मन्त्रालयद्वारा गठित प्राविधिक समितिले निर्मलाको ‘भेजिनल स्वाब’ मा बिर्य भएको बारे प्रयोगशालाबाट प्राप्त जानकारीबाट ‘भेरिफाई’ गर्न नसकिएको र प्रयोगशालाले पनि भेजिनल स्वाबमा भेटिएको बिर्य हो या होइन पुष्टि नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ।

त्यसैगरी ५ नम्बर बुँदामा भेजिनल स्वाबमा भेटिएको बिर्य पुरुषको हो भन्ने अवस्था रहेन भन्ने उल्लेख छ। यसले गर्दा प्रहरीलाई हत्या अभियोगमा पनि अनुसन्धान गर्ने बाटो खुलेको छ। आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्