Logo

चलचित्र ‘घरजम’ बिर्तामोडमा प्रर्दशन हुँदै



बिर्तामोड, ३ कार्तिक । मौलिक नेपाली कथानक चलचित्र ‘घरजम’ झापाका विभिन्न स्थानमा विशेष प्रर्दशन हुने भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ कार्तिक ५ गते बिर्तामोडस्थित कृष्ण चलचित्र मन्दिरमा प्रर्दशन हुने भएको हो ।

आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले ‘घरजम’ विशेष प्रर्दशन हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक मौसम इम्बुङले ‘घरजम’ लिम्बू समुदायको जिवन–दर्शनलाई आधार मानेर निर्माण गरिएको नेपाली कथानक चलचित्र रहेको र यसका लागि स्टार भ्याल्यु रोजाइमा पर्न नसकेको बताए ।

क्यारेक्टरलाई आधार मानेर बनाइएका चलचित्रले ‘नेपाली चलचित्र यस्तो हुनुपर्छ’ भन्ने मानसिकता स्थापित गर्न खोजिरहेको बेला ‘घरजम’ले एउटा इटा थप्ने काम गरेको निर्देशक इम्बुङले बताए । उनले भने, ‘हाम्रा पात्रहरुलाई मौलिक रुपमा प्रस्तुत गर्नु र सर्लक्कै समाज देखाउनु वा सुनाउनु ‘घरजम’को विशेषता हो ।’

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता तथा कलाकार सीताकुमारी तुम्बापोले सन्ततीलाई आफ्नो देश, भाषा, संस्कार–संस्कृति र परम्परासँग परिचित गराउँन कला क्षेत्र सबैभन्दा प्रभावकारी माध्यम रहेको मान्यताका साथ चलचित्र निर्माण गरिएको बताइन् । उनले भनिन्, ‘हामीले पहिलो पटक चलचित्र ‘थात्थलो’ निर्माण गरेका थियौ, ‘घरजम’ दोस्रो चलचित्र हो । ‘घरजम’ व्यवसायीक रुपमा समेत नेपाली चलचित्र उद्योगमा प्रतिस्पर्धी चलचित्र हो । चलचित्रले बोकेको मौलिकता हामी र आम दर्शकका तथा नेपाली चलचित्र क्षेत्रका लागि थप उपलब्धी हो ।’

चलचित्र ‘घरजम’ देशभरका मल्टिप्लेक्स तथा सिङ्गल थिएटर गरी ८० भन्दा बढि चलचित्र हलमा प्रर्दशन गर्ने लक्ष्य रहेको जानकारी गराइएको छ । साथै, विदेशका १० भन्दा बढी स्थानमा ‘विशेष’ प्र्रर्दशनीको तयारीसमेत गरिएको विशेष प्रर्दशन समितिका संयोजक शैलेन्द्र थेवेले जानकारी दिए । चलचित्र ‘घरजम’लाई ‘घुम्ती’ शैलीमा समेत प्रर्दशन गर्ने योजना रहेको छ । घुम्ती प्रर्दशन अन्र्तगत इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र संखुवासभा गरेर ५० वाटा स्थानीय तहमा प्रर्दशन गरने संयोजक थेवेले जनाए ।

घरजम युनिटले विशेष प्रर्दशनीपछि स्थानीय स्तरमा पत्रकार, वुद्धिजिवी, साहित्यकार, समिक्षक तथा सरोकारवाला पक्षसँग चलचित्रबारे समिक्षात्मक छलफल गर्ने योजना बनाएको घरजमका संचार सल्लाहकार मिलन लिम्बूले बताए ।

करिब ८० लाख रुपैयाँको लगानिमा बनेको चलचित्रको निर्माता किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापो हुन् भने सह निर्माताको रुपमा तेज मेन्याङबो रहेका छन् । चलचित्रमा, बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, शुष्मा सुब्बालगायत कलाकारको अभिनय गरेका छन् ।

बिर्तामोड विशेष प्रर्दशन समितिका संयोजक शीला उप्रेतीका अनुसार बिर्तामोड प्रर्दशनको तयारी अन्तिम चरणमा पुगेको छ । बिर्तामोड क्षेत्रका एक हजार दर्शकलाई चलचित्र देखाउँने योजना रहेको उप्रेतीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्