Logo

सीको नेपाल भ्रमण– सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने



काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने भएको छ ।

दुई दिन राजकीय भ्रमणका क्रममा सी नेपाल आएको बेलामा सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्ने तयारी भएको समाचारहरु बाहिरिएका थिए । विहीवार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग सीको नेपाल भ्रमणबारे छलफल गर्न प्रधानन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन्धि नहुने जानकारी गराएका हुन् ।

सीको भ्रमको क्रममा सुपुर्दगी सन्धिको एजेन्डा नै नरहेको उनले बैठकमा जानकारी दिए । उनले सीको भ्रमणका क्रममा सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने जानकारी गराएको बैठकमा सहभागी पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।

प्रधामन्त्रीले बोलाएको बैठकमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल लगायत पूर्व परराष्ट्र मन्त्रीहरुको उपस्थिति रहेको थियो । सी दुई दिने भ्रमणका लागि शनिवार नेपाल आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्