Logo

प्रधानमन्त्री ओली पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्दै



काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल तथा परामर्शलाई तीव्रता दिएका छन् ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा नेपाले उठाउने एजेन्डाका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई आज विहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा ९ बजेपछि हुने छलफल सीको भ्रमण तयारी र एजेण्डाबारे केन्द्रित हुने बालुवाटार स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउन लागेका हुन् ।

राष्ट्रपति तहमा पछिल्लो पटक सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको भ्रमण गरेका थिए । २३ वर्षपछि हुन लागेको चीनको राष्ट्रपतिको नेपाल भ्रमणलाई नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत चासोका साथ हेरिरहेको छ । सी को भ्रमणलाई लिएर सरकारले भव्य स्वागतको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्