Logo

योपटकको नोबेल पुरस्कार पाउने वैज्ञानिकको नाम घोषणा



एजेन्सी,, २२ असोज । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुईजना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।

उनीहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ ।पुरस्कृत हुनेहरुमा स्वीस वैज्ञानिकहरु माइकल मायोर र डिडियर क्वुलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्राध्यामक जेम्स पिबल्स रहेका छन् ।

जेनेभा विश्वविद्यालयले प्राध्यापकद्वयका तर्फबाट जारी गरेको विज्ञप्तिमा पुरस्कारको निर्णय निकै असाधारण र विशेष रहेको बताएको छ ।

विश्वविद्यालयले विज्ञप्तिमा भनेको छ–‘दुवै स्वीस वैज्ञानिकले खगोल विज्ञानमा अदभूत योगदान गर्नुभएको छ । उहाँहरुले वर्तमान सौर्यमन्डलबाहिर पनि अर्को ग्रह रहेको पहिलोपटक पत्ता लगाउनुभएको थियो । यो ग्रहको नाम ५१ पेगासी बी राखिएको छ ।’अहिले वर्तमान सौर्यमन्डलबाहिर झन्डै २,००० ग्रह रहेको पत्ता लागिसकेको छ ।

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

यसैगरी, सन् २०१९ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुईजना अमेरिकी र एकजना बेलायती वैज्ञानिकलाई प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरुलाई मानव शरीरका कोषहरुको खोज एवं अनुसन्धान गरेवापत् उक्त पुरस्कार दिइएको हो ।

रक्तअल्पता, क्यान्सर र अरु प्राणघातक रोगहरुसँग लड्न नयाँ खोजले सघाउने नोबेल समितिले जनाएको छ । यो पुरस्कार प्राप्त गर्नेहरुमा हार्वर्ड विश्वविद्यालयका डा। विलियम जी काइलिन जुनियर, जोन्स हप्किन्स विश्वविद्यालयका ग्रेग एल सेमेन्जा र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका पिटर जे राचक्लिफ रहेका छन् । सन् १९०१ यता यो पुरस्कार ११०औं टक प्रदान गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्