Logo

ताप्लेजुङमा नयाँ नोटको अभाव



ताप्लेजुङ, १७ असोज । ताप्लेजुङमा नयाँ नोटको अभाव भएको छ । मागअनुसार प्राप्त नभएकाले दशैँका लागि नयाँ नोटको अभाव भएको हो । राष्ट्र बैङ्क समक्ष नेपाल बैङ्क लिमिटेड ताप्लेजुङ शाखाले सात करोड रुपियाँ माग गरे पनि एक करोड मात्र नयाँ नोट प्राप्त भएपछि माग नधानेको हो ।

मागअनुसार नयाँ नोट प्राप्त नभएकै कारण अभावको असस्था सृजना भएको नेपाल बैङ्क लिमिटेडका शाखा प्रवन्धक तेजप्रसाद नेपालले बताए । शाखा प्रवन्धक नेपालका अनुसार माग गरिएअनुसार सात करोड रुपियाँ रकम प्राप्त भएको भए सबै सेवाग्राहीलाई पुग्ने थियो । उनले मागअनुसार आधा पनि प्राप्त नहँुदा नयाँ नोटको अभाव भएको बताए ।

यता प्राप्त एक करोड रुपियाँ नयाँ नोट गएको बुधबार एकैदिन सेवाग्राहीलाई वितरण गरिएको शाखा प्रवन्धक नेपालले बताए । उनका अनुसार उक्त दिन छ सय जनालाई १६ हजार रुपियाँको दरले नयाँ नोट उपलब्ध गराइएको थियो ।

त्यसपछि बैङ्कमा नयाँ नोट सटही गर्न आउने सेवाग्राहीले उनीहरुको मागअनुसार उपलब्ध गराउन नसकिएको नेपालको भनाइ छ । यस्तै जिल्लास्थित निजी बैङ्कका शाखाहरुलाई एक लाख ८५ हजार रुपियाँको दरले नयाँ नोट उपलब्ध गराएको पनि उनले जानकारी दिए ।

नयाँ नोट सटहीको जिम्मेवारी पाएको नेपाल बैङ्क लिमिटेडलाई नै सीमित रकम आएपछि अन्य निजी बैङ्क तथा वित्तीय संस्थालाई रकम उपलब्ध नहुँदा सेवाग्राही थप समस्यामा परेका छन् । नयाँ नोटको अभाव भएपछि सेवाग्राहीहरु दशैँका लागि चाहिने खुद्रा तथा नयाँ नोट सटही गर्न बैङ्कहरुमा पुगेर रित्तै फर्कने गरेका छन् ।

उता दशैँका लागि भनेर यसवर्ष एक करोड रुपियाँ आएर पुगे जतिलाई वितरण गर्न पाएको र आगामी वर्ष भने दशैँको सिजनमा नयाँ नोट नआउने शाखा प्रवन्धक नेपालले बताए । दशैँमा नयाँ नोटमा रङ्ग लागेपछि उक्त नोटलाई डढाएर नष्ट गर्नुपर्ने अवस्थाका कारण आगामी वर्ष नयाँ नोट नआउने भएको उनले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्