Logo

मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार ऊर्जाः मन्त्री पुन



काठमाडौँ, २६ भदौ । सरकारले मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेर कानूनी, नीतिगत तथा संरचनागत सुधार गरी लगानीको वातावरण बनाएको भन्दै खुला हृदयसाथ नेपालमा लगानीका लागि वैदेशिक लगानीकर्तालाई आग्रह गरेको छ ।

संयुक्त अरब इमिरेटको अबुधावीमा जारी ‘बल्ड इनर्जी फोरम’ को ऊर्जा मन्त्रिस्तरीय सत्रलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा लगानीका लागि खुला हृदयसाथ आउन आग्रह गरे ।

उनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको तथ्याङ्क पेश गर्दै पाँच हजार मेगावाट विद्युत् निर्यातका लागि छुट्याइएको समेत उल्लेख गरे । नेपालको कूल ऊर्जा खपतको ८० प्रतिशत ऊर्जा परम्परागत बायोमास तथा पेट्रोलियम पदार्थ जस्ता प्रणालीमा नै रहेको भन्दै उनले देशभित्रै पनि जलविद्युत् र नवीकरणीय ऊर्जा खपतका लागि प्रशस्त आधार रहेको बताए ।

उनले जलविद्युत् र नवीकरणीय ऊर्जा सात प्रतिशतमात्रै उपभोग भइरहेको भन्दै त्यसलाई क्रमशः वृद्धि गर्दै लैजाने योजनामा आफूहरु रहेको प्रष्ट पारे । हालसम्म ८८ प्रतिशत जनसङ्ख्या ग्रिड र अफग्रिडका माध्यमबाट विद्युतीय पहुँचमा पुगेको र विद्युत्को प्रतिव्यक्ति उपभोग २४५ किलोवाट प्रतिघण्टा रहेको उल्लेख गर्दै मन्त्री पुनले भने, “हामीले प्रसारण र वितरण प्रणालीलाई बढाउँदै र विस्तार गर्दै लगेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्