Logo

शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत



काठमाडौँ, २४ भदौ । ‘‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिसभाबाट सन्देशसहित प्राप्त सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले शिक्षा र संस्कृतिमाथि आक्रमण भइरहेको बताउँदै संरचनागत रुपमा कसरी जाने भन्नेमा खुला छलफल गरी निष्कर्षमा पुग्नुपर्ने विचार राखे । सांसद पुष्पा भुसालले शिक्षा निःशुल्क मात्र नभई अनिवार्य पनि गराउनुपर्ने बताए । पूर्ण साक्षरबाट पूर्ण शिक्षित बनाउनेतर्फ विधेयक केन्द्रित हुनुपर्ने उनको धारणा थियो । साङ्केतिक भाषालाई पनि शिक्षामा अनिवार्य एवं निःशुल्क गराउने र शिक्षाको नीति निर्धारण गर्ने ठाउँमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग पनि सांसद भुसालको थियो ।

सांसद गगनकुमार थापाले गत वर्ष ६२ हजार विद्यार्थी शिक्षा लिन विदेश गएको उल्लेख गर्दै स्वदेशमै गुणस्तरीय शिक्षा दिने व्यवस्था मिलाउनुपर्ने बताए । “विगतका गल्तीलाई सच्याउनुपर्नेमा पुनःदोहो¥याइएको छ, विश्वविद्यालयमा सही पात्र ल्याइनुपर्छ, विगतका सबै सरकारले गल्ती गरेकाले यस वर्ष पदाधिकारी नियुक्त गर्दा राजनीति र भागबण्ड नगरियोस्”, उनले भने । सांसद तेजुलाल चौधरीले बौद्धदर्शन पढाउन खोलिएको विश्वविद्यालयले इञ्जिनीयरिङसमेत पढाउन थालेकाले शिक्षासम्बन्धी छाता कानून निर्माण गरी स्पष्ट व्यवस्था गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्