Logo

पुल निर्माणको काम समयमा नसक्दा स्थानीयलाई सास्ती



तेह्रथुम, २३ भदौ । जिल्लामा निर्माण कम्पनीले समयमा पुल निर्माणको काम नगर्दा स्थानीयलाई समस्या भएको छ ।

म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकाको विचमा रहेको खोरुङ्गा खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेपछि यात्रुलाई सास्ती भएको हो ।

मध्यपहाड़ी लोकमार्ग अन्तरगत म्याङ्लुङ–सक्रान्ती सडक खण्डमा रहेको यो पुल एक वर्षभित्र काम सक्ने गरी २०७३ सालमा कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिले कामको जिम्मा पाएको थियो ।

२०७४ पुषभित्रै काम सम्पन्न गर्ने भनिए पनि सो निर्माण सेवाले काम छाडेर भागेको छ । वर्षा याममा खोलामा पानी बढेकाले आवत जावत गर्न समस्या भएको यात्रु बताउँछन् ।

पुल निर्माणका लागि अनुमानित लागत पाँच करोड ९० लाख एक हजार रुपैयाँ तय गरेकोमा चार करोड ९६ लाख ९१ हजार छ सय ४५ रुपैयाँमा काम गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिएको थियो ।

समयमा काम नगरेको गुनासो आएपछि अनुगमनमा आएको म्याङलुङ नगरपालिका प्रमुख संजय तुम्वाहाम्फेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्