Logo

नयाँ सडक सञ्जालले बदलिँदै इलाम



इलाम, २२ भदौ । इलमबाट झापा जाने मेची राजमार्गको विकल्पमा नयाँ र छोटा सडकको निर्माणले इलाममा बिकासका नयाँ आधार तयार हुने भएको छ । इलाम सदरमुकामबाट मेची राजमार्गको ८३ किलोमिटर यात्रा गरेर गर्नु पर्ने हुन्छ । तर, निर्माणाधिन दु्रत मार्ग सम्पन्न भएपछि ४७ किलोमिटरको यात्राबाट बिर्तामोड पुग्न सकिने भएको छ ।

इलाम बजार मात्र हैन, इलाम–मंगलबारे बजार जोड्ने द्रुत मार्ग निर्माण भइरहेको छ । यहाँबाट हिउँदका दिन सहज रुपमा गाडी वारपार भइरहेका छन् । बर्खा याममा साना गाडी गुड्छन् । मंगलबारे बजारबाट बिर्तामोड पुग्न १२० किलोमिटर पार गर्नुपर्छ तर, द्रुत मार्गबाट ५३ किलोमिटर दूरीमै बिर्तामोड पुग्न सकिन्छ ।

खाद्यान्न, निर्माण सामग्रीको ढुवानी र स्वास्थ्योपचारमा इलामले तराईमाथि भर पर्नु परिरहेको छ । सडक दुरी झण्डै आधा घट्ने भएपछि उपभोग्य सामग्री सस्तो हुने इलामका उपभोक्ता तथा व्यापारीको बझाइ छ । इलामका व्यवसायी सुमन सुवेदीले ढुवानी भाडामा मात्र हैन समय पनि बचत हुने बताए ।

इलाममा उत्पादन हुने फलफूल, तरकारी, खाद्यान्न तराईमा ढुवानी गर्न पनि सहज हुने भएको छ । इलामको पूर्वी भेगको कृषि उत्पादन तराईमा सहज पहुँच थियो । पर्यटनमा पूर्वी इलामले राम्रो बिकास गरेको छ । पूर्वी इलाम भन्दा पछाडि परेको पश्चिम इलाम नयाँ सडक निर्माणले कृषि र पर्यटनको क्षेत्रमा बिकास गर्ने स्थानीयले विश्वास गरेका छन् ।

राज्य पुनःसंरचनापछि स्थानीय तहबाट नै गाउँ गाउँमा काम हुन थालेपछि सदरमुकाम इलाम बजार सुनसान बन्दै गएको छ । तर, इलाम बजार र मंगलबारेबाट तराई पुग्न अब आधा दूरी घट्ने भएपछि इलाम पुनः गुल्जार हुने अनुमान गरिएको छ ।

इलाम नगरपालिका–९ को भञ्ज्याङ, राकसे हुँदै बेलासे पुग्ने दश किलोमिटर लामो नयाँ ट्र्याक खुलेसँगै इलाम बजारबाट झापा पुग्न आधा दूरी घट्ने भएको हो ।

त्यस्तै, मंगलबारे बजारबाट गाग्रेभञ्ज्याङ जितपुर, सिद्धिथुम्का, सोयाक हुँदै दानाबारीबाट बिर्तामोड पुग्न सकिन्छ । मंगलबारेबाट मेची राजमार्गको नेपालटार निस्किएर इलाम बजार हुँदै बिर्तामोड पुग्न साढे चार घण्टा समय लाग्ने गरेको छ तर, निर्माणाधीन दु्रत मार्गबाट दुई घण्टामै बिर्तामोड पुग्न सकिने भएपछि मंगलबारेवासी पनि हर्षित छन् ।

इलाम बजारबाट झापा जाने सडकको थालनी भने विसं २०७४ मै भएको थियो । तत्कालीन निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत प्राप्त रु १४ लाख ५५ हजार र तत्कालीन जिल्ला विकास समितिबाट प्राप्त रु दुई लाख ५० हजारले नयाँ ट्र्याक खोल्न शुरु गरिएको बताइएको छ । चालु वर्षमा इलाम नगरपालिकाको १५ लाख र १ नं प्रदेशबाट पाँच लाखको लागतमा उक्त सडक खण्डको ट्र्याक खुलेको हो ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष तारादेवी कटुवालले १५ लाखले आठ मिटर चौडा भएको सडक एक हजार ७०० मिटर कटिङ गरिएको र पाँच लाखले थप सात सय मिटर कटिङ गरिएको जानकारी दिइन् । उनले घोर्लेभिर भन्ने स्थानसम्म सडक फराकिलो पार्ने काम भए पनि त्यहाँदेखि बेलासेको सोयाक–चिसापानीसम्मको सडक अmझै साँघुरो रहेको बताइन् ।

इलाम भञ्ज्याङबाट नयाँ ट्र्याक खुलेपछि राकसे हुँदै माइ नगरपालिकाको दानाबारी र झापाको खुदुनाबारीसम्म यातायात सञ्चालन भएमा भाडासँगै सामग्री ढुवानी र पर्यटन क्षेत्रमा सम्भावनाका थप ढोकाहरु खुल्ने स्थानीयवासीले बताएका छन् ।

दु्रत मार्गमा पुवाखोला तर्ने पक्की पुल निर्माण र सडक स्तरोन्नति हुन बाँकी रहेकाले हिउँदमा मात्र साना सवारी साधन चलाउन सकिन्छ । उक्त सडकका लागि हाल रणनीतिक सडक योजनाअन्तर्गत एक करोड बजेट छुट्याएको छ । यस रकमबाट सडक डिभिजनले थप काम अगाडि बढाउने इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले जानकारी दिए ।

इलामदेखि बिर्तामोड पुग्न सडकका बीचमा विभिन्न खोला तर्नुपर्ने भएपनि केही पुल निर्माण भइसकेका छन् । पुवाखोलामा पुल बन्न बाँकी रहे पनि माईखोलाको बेलासेमा पुल बनिसकेको छ भने लोदिया खोलामा पुल निर्माणको ठेक्का लागिसकेको छ ।

दानाबारी गरुवा खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै, उक्त सडकमा पर्ने बुढी सुखानी र टाङटीडको पुल बनिसकेको छ ।

प्रदेश सरकारले यस सडकलाई पक्की बनाउन काम अगाडि बढाउने बताइएको छ । साँघुरो मेची राजमार्गले हाल इलामसहित ताप्लेजुङ, पाँचथर ते¥हथुम लगायतका जिल्लाहरुमा जाने साना ठूला सवारीको भार थाम्न बाध्य छ । इलाम बजार र मंगलबारेबाट झापा जोडिने सडक संचालनपछि मेची राजमार्गमा भएको सवारी चाप कम हुने भएको छ ।

साँघुरो सडक भएकै कारण बढी दुर्घटना र बिरामी हुँदा अस्पताल पुग्न धेरै समय लाग्ने भइरहेको छ ।

यता, मंगलबारे–जितपुर–बिर्तामोड सडकबाट भने दैनिक सवारी सञ्चालन हुन थालेपछि मंगलबारे क्षेत्रका बासिन्दा इलाम बजार नटेकी झापा पुग्न थालेका छन् । इलाम बजारबाट झापा पुग्न भन्दा दानाबारीबाट झापा झर्दा आधा भन्दा कम दूरी र समय लाग्ने निर्मल आचार्यले बताए ।

सडक कच्ची भए पनि उन्नति परियोजनाले ग्राभेल गरिदिएकाले गाडी गुड्छ । यस सडकको स्तरोन्नति गर्न स्थानीयवासीले माग गर्दै आएका छन् ।

राँके, तपेवा, सावजुङ हुँदै मंगलबारे बजारबाट दानाबारी र बिर्तामोड सडकअन्तर्गतका नगरभित्रको सडकलाई गौरवको आयोजनाका रुपमा काम अघि बढाइएको देउमाई नगरपालिका प्रमुख सूर्य प्रसाद पोख्रेलले बताए ।

प्रदेश सांसद राम रानाले यस सडकको स्तरोन्नति गर्न सङ्घीय सरकारले काम थालेको बताए । यस सडकलाई पक्की गर्न डिपिआर सर्वे भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्