Logo

निखिल, विपिन र खगेन्द्र मध्ये को बन्लान् उत्कृष्ट अभिनेता ?



काठमाडौं, ३ भदौ । अभिनेता खगेन्द्र लामिछाने, विपिन कार्की, गौरव पहाडी र निखिल उप्रेतीबीच उत्कृष्ट अभिनेताको लागि प्रतिस्पर्धा हुने देखिएको छ । कामना फिल्म अवार्डस् २०७६ ले सार्वजनिक गरेको उत्कृष्ट ५ मनोनयन सूचीमा यी कलाकार एक अर्कोको प्रतिस्पर्धामा देखिएका हुन् ।

चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्था तथा चलचित्रकर्मीहरुसँगको बृहत छलफल पश्चात तयार पारिएको निर्णायक मण्डलले झण्डै एक महिना समय लगाएर अवालोकन गरी २६ विधाको उत्कृष्ट ५ मनोनयन सूची तयार गरेको छ । जुन सूचीमा अभिनेत्रीतर्फ दीपिका प्रसाईं, मेनुका प्रधान, नम्रता श्रेष्ठ, पूजा शर्मा र शिल्पा पोखरेल प्रतिस्पर्धामा देखिएका छन् ।

त्यस्तै सर्वोत्कृष्ट चलचित्र विधामा छक्का पञ्जा ३, डमरुको डण्डी वियो, नाई नभन्नु ल ५, प्रसाद र साइलीबीच भिडन्त हुने भएको छ ।

सार्वजनिक मनोनयन सूचिमा चलचित्र नाई नभन्नु ल ५ सर्वाधिक १५ विधाको मनोनयनमा परेको छ । यो चलचित्र सर्वोत्कृष्ट चलचित्र, निर्देशक, सहअभिनेत्री, नवअभिनेता, संगीतकार, गीतकार, पाश्र्वगायिका, बालकलाकार, पटकथा, कोरियोग्राफी, पाश्र्वसंगीत, ध्वनिमिश्रण, छायांकन, सम्पादन र श्रृंगार विधाको मनोनयनमा परेको छ ।

त्यसैगरी चलचित्र छक्का पञ्जा ३ र डमरुको डण्डीबियो १२÷१२ विधाको मनोनयमा परेको छ । छक्का पञ्जा ३ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेत्री, सहअभिनेता, पाश्र्वगायक, हास्य कलाकार, कोरियोग्राफी, कथा, पटकथा, संवाद, ध्वनि मिश्रण र सम्पादन विधाको मनोनयन परेको छ । यो चलचित्रबाट दीपकराज गिरी कथा, पटकथा र संवाद गरी ३ विधाको मनोनयमा परेका छन् ।

त्यसैगरी डमरुको डण्डीबियो सर्वोत्कृष्ट चलचित्र, अभिनेता, नवनिर्देशक, सहअभिनेता, कथा, पटकथा, संवाद, छायांकन, पाश्र्वसंगीत, ध्वनिमिश्रण, सम्पादन र श्रृंगार विधाको मनोनयमा परेको छ। यो चलचित्रबाट खगेन्द्र लामिछाने अभिनेता, कथा, पटकथा र संवाद गरी ४ विधाको मनोनयनमा छन् ।

प्रतिक्रिया दिनुहोस्