Logo

प्रदर्शनकारीले जलाए संसद् भवन



एजेन्सी, ३ भदौ । इन्डोनेसियाको पश्चिम पपुवाको पूर्वी प्रान्तमा भएको प्रदर्शन हिंसात्मक बनेसंगै प्रदर्शनकारीले एउटा स्थानीय संसद् भवन नै जलाइदिएका छन्।

स्थानीय संसद्मा प्रदर्शनकारीले लगाएको आगोलाई नियन्त्रणमा लिइएको इन्डोनेसियाली अधिकारीहरुले जनाएका छन्। इन्डोनेसियाको एक ठाउँमा पपुवन विद्यार्थीलाई लिएर रंगभेदी विभेद भएको भन्दै सोमबारबाट सो क्षेत्रमा हिंसात्मक प्रदर्शन भएको थियो।

‘विद्यार्थी पक्राउ गर्दा स्थानीय बासिन्दा र सरकारी अधिकारहरुले अति रंगभेदी शब्द प्रयोग गरेका’ कारण स्थानीयहरु आक्रोशित भएको पपुवाका प्रान्तीय गभर्नर लुकास एनेम्बेले बताएका छन् । राज्यका राजधानी मानोक्वारीमा भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रदर्शनकारीले दर्जनौं सवारीसाधन, व्यापारिक केन्द्र र रुखमा पनि आगो लगाएको जनाइएको छ ।

पूर्वी डच औपनिवेशिक पपुवा र पश्चिम पपुवा मिलेर बनेको पपुवा सन् १९६० को दशकदेखि नै इन्डोनेसियाको विवादित क्षेत्र हो। सन् १९६१ मा स्वतन्त्र भएको घोषणा गरे पनि उसको पश्चिमी ठूलो छिमेकी इन्डोनेसियाले तत्काल उसमाथि नियन्त्रण जमाएको थियो।

पपुवाको स्वतन्त्रताका बारे सन् १९६९ मा जनमत संग्रह आयोजना गरिएको थियो। सो जनमत संग्रहलाई संयुक्त राष्ट्रसंघले पर्यवेक्षण गरेको भए पनि लगभग एक हजार मानिसलाई मात्रै सहभागिता गराइएको भन्ने भनाई अझै पनि अधिकांशमा मानिसको रहेको छ।

त्यसपछि यस क्षेत्रमा हालसम्म विखण्डनवादी आन्दोलन चलि नै रहेको छ र इन्डोनेसियाली अधिकारीहरुले सो क्षेत्रमा मानवअधिकारको उल्लंघन गरेको आरोप बेलावखत खेप्ने गरेका छन्।

इन्डोनेसियाको दोस्रो ठूलो सहर पूर्वी जाभास्थित सुराबायामा एकसाता अघि पपुवन विद्यार्थीमाथि भएको घटनालाई लिएर पछिल्लो आन्दोलन भएको बताइएको छ।

विद्यार्थीको जमातलाई सो भवनबाहिर भेला भएको भीडले आक्रमण गर्ने खतरा बढेपछि उनीहरुलाई हिरासतमा लिइएको स्थानीय प्रहरीका प्रवक्ताले अस्ट्रेलियाली समाचार संस्था एबिसीसँग बताएका छन्।

प्रतिक्रिया दिनुहोस्