Logo

औषधि फिर्ता नगरे लाइसेन्स खारेज गर्ने चेतावनी



काठमाडौं, ३ भदौ । दर्ताबिना धमाधम बिक्री भइरहेका झन्डै १ हजार औषधि बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले ताकेता गरेको छ ।विभागले दर्ता नभएका औषधि बिक्री गरे औषधि पसलको प्रमाणपत्र खारेज गर्नेसम्मको चेतावनी दिएको छ ।

विभागका प्रवक्ता सन्तोष केसीले दर्ता नभई औषधि बिक्री नगर्न औषधि विक्रेतालाई अनुरोध गरे । उनले भने, ‘केही लुकीछिपी पनि बिक्री भइरहेका छन् । बजार अनुगमनका क्रममा दर्ताबिना औषधि बिक्री गरेको पाइए औषधि ऐन २०३५ अनुसार कारबाही हुन्छ ।’ औषधि व्यवस्था विभागका अनुसार नेपालमा १८ हजार औषधिका ब्रान्ड दर्ता भएका छन् ।

स्रोतका अनुसार झन्डै १ हजार ब्रान्डका खाद्यपूरक औषधि, न्युट्रास्यिुटिकल, मलमजन्यलगायत औषधि दर्ताबिनै बिक्री वितरण भइरहेका छन् ।

विभागले दर्ता नभएका औषधि बिक्री वितरण नगर्न थोक तथा खुद्रा विक्रेतालाई अनुरोध गरेको छ । विभागले एक सूचना जारी गरी निरीक्षण तथा अनुगमनको क्रममा त्यस्ता औषधिको सञ्चय तथा बिक्री वितरण गरेको पाइएमा औषधि ऐनबमोजिम त्यस्ता औषधि जफत गर्ने चेतावनी दिएको छ ।

विभागले सूचना जारी गर्दै औषधि ऐन, २०३५ को दफा १० बमोजिम औषधि बिक्री वितरण गर्न अनुमति लिएका थोक तथा खुद्रा विक्रेताहरूलाई दर्ता भएका औषधि मात्रै बिक्री वितरण गर्न भनेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्