Logo

चौंथो पाथीभरा गोल्डकपः एलाभेन एरोजको जित



ताप्लेजुङ, २ भदौ । ताप्लेजुङमा जारी चौंथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ दिन सोमबारको खेलमा एलाभेन एरोज क्लब सुनसरीले जित हासिल गरेको छ ।

विदेशी पाहुना टोली भारत, दार्जिलिङको युनाइटेड खर्साङ फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै सुनसरी विजयी भएको हो । उक्त जितसँगै सुनसरी प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मध्यान्तरसम्म आइपुग्दा दुवै टोली (टिम) गोलरहित थिए भने खेलको ५१ औं मिनेटमा एलाभेन एरोजका क्यामरुनी खेलाडी यानिक ओनाले पहिलो गोल गरेका थिए । पहिलो गोल गरेको पाँच मिनेट नबित्दै खेलको ५६ औं मिनेटमा यानिक ओनाले नै थप गोल गर्न सफल भए । अन्ततः ओनाले गरेको दुई गोल नै जितका लागि एलाभेनलाई प्रयाप्त बन्यो भने युनाइटेड खर्साङले अधिकतम् प्रयास गरेपनि गोल गर्न सफल भएन ।

सोमबारको खेलमा एलाभेन एरोज क्लबका रुपेश केसी सर्वश्रेष्ठ खेलाडी घोषित भए । केसीलाई आयोजकले प्रोत्साहन स्वरुप पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरेको छ । मङ्गलबार गतवर्षको उपाधि विजेता रेडस्टार क्बल झापा र झापाकै गोर्खा स्पोर्टिङ क्लब दमकबीच खेल हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जानकारी दिएको छ ।

मङ्गलबार हुने रेडस्टार र गोर्खा स्पोर्टिङ क्लबबीचको खेल क्वार्टरफाइनलको अन्तिम खेल भएको समितिका अध्यक्ष नारायण थापाले जानकारी दिए । बुधबारदेखि सेमिफाइनल चरणका खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्