Logo

कश्मीर मामलालाई नियालिरहेका छौंः परराष्ट्रमन्त्री



काठमाडौं, २ भदौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारले जम्मू कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले जम्मू कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताएका हुन् ।

भदौ ४ र ५ गते हुने नेपाल–भारत संयुक्त बैठकका बारेमा जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बैठकमा कश्मीर मामलाले स्थान भने नपाउने प्रष्ट गरे ।

भारतीय संविधानले व्यवस्था गरेको अनुच्छेद ३७० लाई निष्प्रभावी बनाएर नरेन्द्र मोदी सरकारले जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोसेको छ भने लद्दाखलाई अलग राज्य बनाएको छ ।

यससम्बन्धमा नेपाल सरकारले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको थिएन । प्रतिपक्षी नेपाली कांग्रेसले पनि यसबारे सरकारले नै धारणा बनाउनुपर्ने भन्दै टिप्पणी गर्नबाट पन्छिएको थियो ।

जम्मू कश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूताबासले काम गरिरहेको जानकारी दिँदै उनले उनीहरु सुरक्षित रहेको बताए ।

सार्कको अध्यक्षसमेत रहेको नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको भन्दै मन्त्री ज्ञवालीले क्षेत्रीय शान्ति खलबलिन नदिन आग्रह पनि गरे । भारतले पनि यसलाई गम्भीरतापूवर्क लिन्छ भन्ने विश्वास रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्