Logo

एसिया कपका लागि नेपाली टिमको सूची पठाइयो



काठमाडौँ, २ भदौ । श्रीलंकामा हुन लागेको एसीसी यू–१९ एसिया कपका लागि नेपाली टिमले १५ खेलाडीको सूची एसीसीमा पठाएको छ । जसमा दुई देखि तीन जना खेलाडी परिवर्तन हुने देखिएको छ ।

अनुभवी खेलाडी आसिफ शेख, सन्दिप जोरा र शुर्य तामाङ फेरी टिममा फर्किने संभावना रहेको छ भने विशाल विक्रम केसी, तिलक भण्डारी लोकेश बम टिमबाट बाहिरीने संभावना रहेको छ ।

नेपालले एसीसीको तयारी ढिलो गरि सुरु गरेको हुँदा एसीसीमा खेलाडीको सूचीपनि केहि दिन ढिलो गरी पठाएको थियो । जसमा मलेसियामा भएको एसीसी इस्टर्न रिजन च्याम्पियनसिप खेलेका तीन खेलाडी यसपटक ड्रप हुने बलियो संभावना रहेको छ ।

यसअघि यू १९ टिममा पर्न नसकेका विकेटकिपर ब्याट्सम्यान आसिफ शेख, युवा स्पिनर शुर्य तामाङ र विस्फोटक ब्याट्सम्यान सन्दिप जोरालाई यसपटक टिममा राख्ने संभावना बलियो देखिएको छ । यसपटक बर्षा सिजनका कारण अभ्यासमा समस्या भएकाले टिमले तीनवटा सेलेक्सन खेल खेल्ने बताएपनि असफल भएको थियो । सोहिका आधारमा प्रशिक्षक विनोद दासले खेलाडीको सूची पठाएका हुन ।

नेपाली टिमले करिव १० दिन अगाडी श्रीलंका गएर अभ्यास गर्ने कार्यक्रम रहेको छ । जसमा नेपालले तीन वटा अभ्यास खेल खेल्ने पनि योजना रहेको छ । नेपाली टिमले अभ्यास खेलमा पाकिस्तान र अफगानिस्तानसँग खेल्न आग्रह गरेको थियो । तर अहिलेसम्म एसीसीले फाइनल स्विकृती दिएको छैन ।

टेष्ट देशका टिमको सहभागिता रहेको प्रतियोगिताको खेल तालिका पनि केहि दिनमा सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्